वीरगञ्जमा भड्कीएको तनाब पछि सोमबार लगाइएको कर्फ्युको अवधि मंगलबार दिउँसोसम्म बढाइएको छ।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बजेसम्म कर्फ्यु लगाइएको थियो। आज पनि स्थिति समान्य नहुने देखेपछि दिउँसो एकबजेसम्मका लागि कर्फ्युको अबधि बढाएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाएको छ।
कार्यालयले विरगंज महानगरपारिका क्षेत्र भित्र पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौर र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाएको हो।
‘तोकिएको चार किल्लाभित्र कसैलाई पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न पूर्ण निषेध गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी भोला दहालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।
कर्फ्यू अवधिमा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली चलाउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
‘कर्फ्यूको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकोले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र निस्कन परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं. मा फोन गरी बाहिर निस्कन हुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।
आदेश अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटकका सवारी साधनहरु, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।
धनुषाको कमला नगरपालिका–६, सखुवा मडानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गर्नुको साथै मुस्लिम धर्मावलम्बीको धार्मिक ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत फैलिएको थियो।
सोही घटनाको विरोधमा वीरगञ्जमा मुस्लिम समुदायले आइतबार प्रदर्शन गरेका थिए। त्यसक्रममा हिन्दु समुदायलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आइतबार साँझ नै उनीहरूले मोटरसाइकल र्याली निकालेका थिए।
सोमबार बिहानैदेखि हिन्दु समर्थक युवाहरूले विरोध प्रदर्शन गरे। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो। वीरगञ्जको छपकैया, मुर्ली लगायत स्थानबाट मुस्लिम युवाहरूले पनि प्रदर्शन गरेका थिए। स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि प्रदर्शनकारीले उल्लंघन गर्दै प्रदर्शन गरिरहेका थिए।
प्रदर्शनमा सहभागी २० जना भन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक राजु कार्कीले २० जना युवालाई नियन्त्रणमा लिएको जानकारी दिए।