अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उदयपुरको जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
उपभोक्ता समूहका अध्यक्ष मिनाकुमारी चौधरीसहित ४ जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
अध्यक्ष चौधरी, सचिव जानकीकुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू, लेखा परीक्षक तनुकलाल चौधरीविरूद्ध मुद्दा चलाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार ०७७/७८ मा सामुदायिक वनको भवन निर्माणमा ४ लाख ९५ हजार २५१ रूपैयाँ खर्च भएको देखिएकोमा ८ लाख ८ हजार ४५३ रूपैयाँ खर्च भएको भनि भुक्तानी लिएको देखिएको छ।
भवन निर्माणमा ३ लाख १३ हजार २०१ रूपैयाँ हिनामिना देखिएको छ। साथै २०७८ पुस ९ गतेको साधारण सभाबाट पनि खर्चभन्दा १ लाख १६ हजार ७८१ रूपैयाँ बढी भुक्तानी लिएर सरकारी पैसा हिनामिना गरेको अख्तियारको आरोप छ।
उनीहरूले फरक फरक समयमा ५ लाख १५ हजार ३०२ रूपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना गरेको देखिएकाले मुद्दा चलाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।
उनीहरूविरूद्ध सरकारलाई हानीनोक्सानी पुर्याएको रकम बरारारको जनही बिगोमाग दावी गरिएको छ।