साँखुमा बस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ पौने ६ बजे काठमाडौंको शंखरापुर नगरपालिका-३ साँखु-जहरसिंह पौवा सडक खण्डमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका थप एक जनाको उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
एनएमसी अस्पतालमा उपचाररत काठमाडौंको जोरपाटी घर भएका अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति ११:१० बजे उनको उपचार क्रममा मृत्यु भएको हो।
बुधाबार बेलुका नै बाँकेको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुड्डको पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू गरी ४ जना घाइतेहरुको उपचार क्रममा मृत्यु भएको थियो।
बाँकी घाइतेहरूको उपचार भइरहेको छ।
५ जना घाइतेहरूको नारायणटारस्थित शंखरापुर अस्पताल, एक जनाको केएमसीमा, तीन जनाको त्रिवि शिक्षण अस्पतालमा, चार जनाको मुलपानी नगर अस्पतालमा, तीन जनाको सुष्मा कोइराला अस्पतालमा, चार जनाको पिपल्स अस्पताल साँखुमा, २ जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिकेयर अस्पताल चाबाहिलमा, दुई जनाको दीर्घायू अस्पतालमा र एक जनाको बिएन्डबी अस्पतामा उपचार भइरहेको प्रहरीले जनाएको छ।