जाजरकोटमा जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्का अनुसार छेडागाड नगरापलिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परी छेडागाड–९ का चालक २४ वर्षीय कृष्ण अधिकारी, छेडगाड–८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड–९ का ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते छन्।
घाइते चारै जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक खड्काले बताए। घाइतेलाई उपचारको लागि नगर अस्पताल बडाबनतर्फ पठाइएको खड्काले बताए।
बिहान ११ बजेतिर छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा छेडागाड–९ पजारुबाट थलहतर्फ जाँदै गरेको क.प्र. ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो।
जिपमा चालकसहित ६ जना सवार थिए।
घटनास्थल इलाका प्रहरी कार्यालय वडाबनबाट ५ किलोमिटर दिक्षण पश्चिम र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ६८ किलोमिटर दक्षिण पश्चिम पर्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।