नसर्ने रोग सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसीडी एण्ड मेन्टल हेल्थ स् स्ट्रेन्थेनिङ एकाउन्टबिलिटी, पोस्ट युएन एचएलएम(२०२५)' सम्पन्न भएको छ ।
साउथ इस्ट एसिया रिजनल एनसीडी एलायन्स र नेपाल एनसीडी एलायन्सको संयुक्त आयोजनामा ललितपुरको होटल हिमालयमा सम्मेलन सम्पन्न भएको हो।
सन् २०२५ को संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठक पछि नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा गरिएको प्रतिवद्धता अनुसार यस क्षेत्रका राष्ट्रहरुमा कार्यान्वयन अवस्थालाई सुदृढ गर्ने उद्धेश्यका साथ सम्मेलन भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले उद्घाटन गरेको सम्मेलनमा नेपाल एनसीडी एलायन्ससंगै बंगलादेश एनसीडी फोरम, हेल्दी इन्डिया एलायन्स, बंगलादेश नन् कम्युनिकेवल डिजिजेज फोरम एनसीडी एलायन्स श्रीलंका, मालदिभ्स एनसीडी एलायन्स, इन्डोनेसिया एनसीडी एलायन्स, एनसीडी मलेसिया, द एनसीडी एलायन्स एसोसिएसन अफ थाइल्याण्डबाट सहभागी विदेशी प्रतिनिधिको समेत सहभागिता थियो ।
सेरो एनसीडी एलायन्सका अध्यक्ष प्राध्यापक डा. अभिनव वैद्यले सम्मेलनमा संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठक २०२५ पछिको सन्दर्भमा नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि उत्तरदायित्व ढाँचालाई सुदृढ बनाउने विषयमा मुख्य छलफल भएको बताए।
'खासमा यो कार्यक्रम सन् २०२५ को संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठक पछि नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा गरिएको प्रतिवद्धताको कार्यान्वयनको अवस्था कस्तो छ ? यस क्षेत्रका देशहरुले यसलाई कसरी कार्यान्वयनमा लगिरहेका छन् भन्ने विषयमा अनुभव आदान प्रदान गर्ने मुख्य उदेश्य हो, ताकि यसले हाम्रो प्रतिवद्धतालाई कार्यान्वयमा लैजानका लागि थप सहयोगी बनोस भन्ने हो,' सेरो एनसीडी एयालन्सका अध्यक्ष प्राध्यापक डा. वैद्यले भने।
नेपाल एनसीडी एलायन्सका अध्यक्ष प्राध्यापक डा. प्रकाशराज रेग्मीले बढ्दो क्रममा देखिएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न राष्ट्रिय स्तर, क्षेत्रीय स्तर र विश्वस्तरबाट हुनु पर्ने कामका बारेमा समन्वय, सहकार्य र थप आइडिया सेयरिङका लागि पनि यो सम्मेलन महत्वपूर्ण भएको बताए ।
यस क्रममा नेपालको सन्दर्भमा बहु–पक्षीय उत्तरदायित्व ढाँचा डा. मनिता प्याकुरेलद्वारा प्रस्तुत गरेकी थिइन् । त्य सपछिको छलफलले राजनीतिक प्रतिबद्धताबाट मापनयोग्य लक्ष्यतर्फको रूपान्तरण, दीगो विकास लक्ष्य (एसडीजी) तथा विश्वव्यापी रुपमा नसर्ने रोगहरुसंगको समन्वयमा जोड दिइएको थियो।
यस्तै बलियो अनुगमन, पारदर्शी समीक्षा र निरन्तर पैरवी मार्फत प्रतिबद्धतालाई व्यवहारिक प्रभावमा रूपान्तरण गर्न समेत आव्हान गरिएको थियो ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री डा. शर्माले नसर्ने रोगहरू नेपालका लागि प्रमुख स्वास्थ्य चुनौती बनेको बताइन्।
'नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको छ। यो केवल स्वास्थ्यको तथ्याङ्क मात्र होइन, यो हाम्रो अर्थतन्त्र र मानव संसाधनमाथिको ठूलो प्रहार हो। त्यसैले, हामीले उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई अनिवार्य रूपमा जोड्नुपर्छ।'
मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई 'ओझेलमा परेको महामारी' को संज्ञा दिँदै सरकारले हालै सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
उनले युवा र किशोरकिशोरीहरूका लागि लक्षित क्लिनिक’ को सफलता उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवाहरू स्थानीय तहसम्म बिस्तार गरिने बताइन्।
उनले नसर्ने रोगको जोखिम कम गर्न सरकारले तयार पारेको पञ्चवर्षीय रणनीतिक दस्तावेज मल्टिसेक्टरल एक्सन प्लान २०२६-३० को प्रसंग निकाल्दै यसले आगामी पाँच वर्षका लागि नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा हुने प्रगति मापन गर्ने र जिम्मेवार निकायलाई जवाफदेही बनाउने आधार तय गर्ने बताइन्।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मानसिक स्वास्थ्यलाई 'सुसुप्त महामारी'को संज्ञा दिदै तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।
'प्रतिबद्धताले मात्र जीवन बचाउँदैन। समुदाय स्तरमा प्रभावकारी कार्यान्वयन हुँदा मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ,' उनले भनिन्।
उनले बढ्दो नसर्ने रोगको भारको तुलनामा लगानी र स्रोत साधन रूपमा कम रहेको बताइन्।
त्यसो त उममेयर डंगोलले काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवामा उल्लेखनीय लगानी गर्दै आएको भन्दै हालसम्म ३२ वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकिएको जानकारी दिइन्।
उनले अस्पतालहरूसँग समन्वय गरी निःशुल्क प्राथमिक स्वास्थ्य सेवा विस्तार गरेको समेत जानकारी दिइन्।
महानगरले जनचेतना अभिवृद्धि, स्वस्थ जीवनशैली प्रवर्द्धन, खाद्य सुरक्षामा ध्यान, योग तथा ध्यानजस्ता रोकथाममुखी उपायहरूमा प्राथमिकता दिइरहेको भन्दै मानसिक स्वास्थ्य, नसर्ने रोगसंग सामाजिक निर्धारकहरू; गरिबी, बेरोजगारी, शहरी तनाव, लैङ्गिक असमानता र जलवायु जोखिमबीच गहिरो सम्बन्ध रहेको बताइन्।
एनसीडी एलायन्स जेनेभाबाट सहभागी लिन्डा सेन्क मार्कोभाले नसर्ने रोग र मानसिक स्वास्थ्यका विषयमा संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठक २०२५ पछिका सवाल र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष सम्बोधन गरेकी थिइन्।
उनले प्रतिवद्धता कार्यान्वयनका लागि राष्ट्रिय , क्षेत्रीय र विश्व स्तरीय समन्वयको खाँचो रहेको समेत बताइन्।
सम्मेलनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालको प्रतिनिधि डा. लोनिम दीक्षितले नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारले अघि सारेको अवधारणा पत्रलाई कार्यान्वयन गर्न डब्लुएचओ सहयोगी हुँदै आएको बताइन्।
सम्मेलनमा नेपालको नसर्ने रोग र मानसिक स्वास्थ्यको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बहुक्षेत्रीय समन्वय शाखाका प्रमुख डा. समिरकुमार अधिकारीले प्रस्तुति दिएका थिए।
यस्तै बंगलादेश नन कम्युनिकेवल डिजिजेज फोरमकी उमे फारिन सुल्तानाले युएन उच्चस्तरीय छलफलपछि प्रगतिबारे प्रस्तुति दिएकी थिइन्।
यसैगरी हेल्दी इन्डिया एलायन्सकी राधिका श्रीवास्तवले स्वास्थ्य करमार्फत नसर्ने रोग विरूद्धको अभियानलाई सुदृढ पार्नका लागि वित्तीय र नियामक उपायहरुको बारेमा प्रस्तुति दिएकी थिइन्।
यसैगरी इन्डोनेसिया एनसीडी एलायन्सकी नन्दा फुजियानाले भरच्युअल माध्यमबाट नसर्ने रोग र मानसिक स्वास्थ्यबारेमा जवाफदेहीता संगै बहुक्षेत्रीय स्तरमा गरिएका कामबारे प्रस्तुति दिएकी थिइन्।
यस्तै नसर्ने रोग र मानसिक स्वास्थ्य नियन्त्रणका लागि गरिएका प्रतिवद्धताहरुको प्रगतिमा क्षेत्रीय तहबाट के कस्ता काम भएका छन् भन्ने विषयमा एनसीडी एलायन्स लंकाका पुवुदु सुमनासेकरा, डा अव्दुल मलिक माल्दिभ्स, डा सुरेन्द्र सेरचन नेपालको समूहगत छलफल भएको थियो ।
यसैगरी नसर्ने रोग र मानसिक स्वास्थ्य न्युनिकरण गर्न गैर सरकारी संस्था, नसर्ने रोग प्रभावित व्यक्तिहरुको भूमिका के हुने भन्ने विषयमा अर्को समूहगत छलफलमा हेल्थ राइट एण्ड टोबाको कन्ट्रोल नेपालका पूर्णभक्त दुवाल, नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका अध्यक्ष प्रमिता खनाल, एनसीडी मलेसियाकी चेन वाङ थोङले समुहगत छलफलमा भाग लिएका थिए ।
सो अवसरमा बोल्दै नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग र मानसिक स्वास्थ्यको विषयलाई राष्ट्रिय, क्षेत्रीय र विश्व स्तरबाट विशेष ध्यान दिनु पर्ने बताए ।
सदस्य शिव श्रेष्ठले नसर्ने रोग र मानसिक स्वास्थ्यको विषयलाई विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए । सेरो एनसीडी एलायन्सका प्रोजेक्ट म्यानेजर सृजना योगीले नसर्ने रोग तथा मानसिक स्वास्थ्य न्युनिकरणका लागि चाल्नु पर्ने कदम निस्कर्ष सुनाएकी थिइन्।
सम्मेलनमा नेपाल सहित १० देशबाट आएका एनसीडी एलायन्सका प्रतिनिधि, सरकारी अधिकारी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, नसर्ने रोगका विजेता, एकेडेमिया, सिभिल सोसाइटी, विभिन्न गैरसरकारी संस्थाका सञ्चारकर्मी समेत गरी १०० बढीको सहभागिता थियो।