सुकुम्बासी बस्तीमा डोजर चलाएर विवादमा परेका प्रधानमन्त्री बालेन शाहको उक्त कदमविरूद्ध उनकै निर्वाचन क्षेत्रका बासिन्दा सडकमा ओर्लन थालेका छन्।
झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका क्षेत्रका भूमिहीन सुकुम्बासीहरूले लगातार सडकमा प्रदर्शन गरिरहेका छन्।
सोमबार कमल गाउँपालिकामा प्रदर्शन गरेकाहरूले बुधबार दमकमा सरकारविरूद्ध नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
फागुन २१ को चुनावमा प्रधानमन्त्री बालेनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पुरानो निर्वाचन क्षेत्र झापा ५ मा फराकिलो मतले पराजित गरेका थिए।
उनीहरूले अर्को विकल्प नदिई वर्षौंदेखि बसोबास गरिरहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठिबास गराउन नहुने भन्दै प्रदर्शन गरेका हुन्।
अखिल नेपाल सुकुम्बासी संघको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ।

झापाको दमक क्षेत्र सुकुम्बासीको बाक्लो बसोबास रहेको क्षेत्र हो। दमकका मेयर राम थापाले दिएको जानकारी अनुसार कम्तिमा ६ हजार ४ सयभन्दा बढी सुकुम्बासी परिवार दमकमा बसोबास गर्छन्। उनले प्रहरी, प्रशासनले डोजर लगाउन भन्दै पत्राचार गर्दा आपत्ति जनाउँदै हचुवा भरमा कतै डोजर नचल्ने बताइसकेका छन्।
यसअघि कमल गाउँपालिकामा भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा प्रदर्शन भएको थियो। सुकुम्बासीहरूले बुझाएको ज्ञापन बुझेपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सुकुम्बासी बस्तीमा डोजर नचलाउने प्रतिबद्धता जनाएका थिए।
गाउँपालिकाले सबै वडाहरूमा तथ्यांक लिने काम गरिरहेको भन्दै अध्यक्ष राईले पालिकाले हतारोमा र प्रतिकूल मौसमका बेला कहीँकतै पनि डोजर नचल्ने बताएका थिए।
झापाकै बिर्तामोडमा पनि सुकुम्बासी आन्दोलित बनेका छन्। सुकुम्बासी संयुक्त संघर्ष समितिले बिर्तामोडमा जुलुस प्रदर्शन गरिसकेको छ।