आफ्नो सामाजिक सञ्जाल टिकटकमा बन्दुक सहितको भिडिओ पोस्ट गर्ने एक जना व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय विनोद ओझा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार ओझा कृष्णनगर न्युज टुडे (अनलाइन न्यूज) का सञ्चालक हुन्।
ओझाले केही दिन पहिले आफ्नो टिकटकमा बन्दुक सहितको भिडिओ राखेका थिए। त्यसपछि प्रहरी उनको घर पछ्याउँदै गएको थियो।
घर खानतलासी गर्ने क्रममा अवैध रूपमा राखिएको एक नाले भरूवा बन्दुक फेला परेको डिएसपी सिंहले बताए।
प्रहरीले पुस २६ गते ओझालाई पक्राउ गरिएको जानकारी दिएको छ।
जिल्ला अदालत कपिलवस्तुले सात दिन थुनामा राखेर हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए।