बर्दियामा साउन ३० गतेयता पुस महिनासम्म जंगली जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
साउन ३० गतेदेखि पुस महिनासम्म जिल्लामा बाघ, चितुवा, हात्ती र गोहीको आक्रमणबाट आठ जना स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता देवेन्द्रकुमार मल्लले सेतोपाटीलाई बताए।
यो अवधिमा बाघ तथा चितुवाको आक्रमणबाट पाँच जना, हात्तीको आक्राणबाट दुई जना र गोहीको आक्रमणबाट थप एक जना गरी आठ जना स्थानीयले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरीमा उपलब्ध रहेको डिएसपी मल्ले जानकारी दिए।
साउन ३० गते गुलरिया नगरपालिका – १२ मा ४३ वर्षीया जगत रानी थारूको शव गाउँ नजिकै कुम्मर सामुदायिक वनको छेउमा रहेको उखु बारीभित्र फेला परेको थियो।
भदौ २९ गते गुलरिया नगरपालिका–१२ मा कविता मुक्तानमाथि स्थानीय केदवाई सामुदायिक वनको छेउमा साथीहरूसँग घाँस काट्दै गरेको अवस्थामा बाघ/चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।
मंसिर १२ गते ६२ वर्षीया गोपी थरूनीमाथि बारबर्दिया नगरपालिका–११ वेलभारस्थित कालावेलभार सामुदायिक वनमा बाघ/चितुवाले आक्रमणबाट मृत्यु भएको थियो।
त्यस्तै, पुस २ गते ३२ वर्षीय दिनेश चौधरीमाथि बारबर्दिया नगरपालिका–१० जंगलमा बाघ/चितुवाले आक्रमणबाट मृत्यु भएको थियो।
पुस १५ गते मधुवन नगरपालिका– २ की विनिता परियारमाथि जनजागर्ती सामुदयिक वनमा बाघ/चितुवाले आक्रमणबाट मृत्यु भएको थियो।
बर्दियामा गोहीको आक्रमणबाट साउन २० गते ठाकुरबाबा नगरपालिका–९ स्थित सौराहा खोलामा नुहाउन गएको समयमा स्थानीय युवा अन्जान थारूको मृत्यु भएको थियो।
त्यस्तै जंगली हात्तीको आक्रमण बाट असोज ११ गते ठाकुरबाबा नगरपालिका – ९ मा ४१ वर्षीया सीता खत्रीको मृत्यु भएको थियो।
राजापुर नगरपालिका – १० मा पुस १६ गते ४३ वर्षीया बालिका सेन पुरीको जंगली हात्तीले आक्रमणबाट मृत्यु भएको थियो।
साउनदेखि पुस महिनासम्म बाघ तथा चितुवाको आक्रमणबाट स्थानीयले पालेका ५७ वटा घरपालुवा जनावर मारिएका विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।
स्थानीयले थापेको खोरमा पसेको चितुवा नियन्त्रणमा लिइयो
बर्दियामा एउटा समस्याग्रस्त चितुवामा नियन्त्रणमा लिइएको छ।
जिल्लाको गुलरिया नगरपालिका–५ वालापुरका स्थानीय माघीराम चौधरीले आफैले बनाएको खोरमा मंगलबार मध्यराति एउटा पोथी चितुवा पसेको थियो।
वडा सदस्य रतनबहादुर ठकुराठीका अनुसार चितुवाले साह्रै दुःख दिन थालेपछि चौधरीले परम्परागत रूपमै घरेलु विधिबाट आफैले खोर बनाएर त्यसमा कुखुरा राखेर चितुवाको लागि पासो थापेका थिए। स्थानीयले आफ्नै परम्परागत विधिबाट थापेको पासोमा चितुवा फसेको बर्दियामा यो पहिलो घटना मानिएको छ।
स्थानीय बालापुर थारू सामुदायिक वनबाट आएको चितुवा खोर भित्रको कुखुरा खान भनेर पसेपछि त्यो पासोभित्रै फसेको थियो। त्यसपछि त्यसलाई नियन्त्रणमा लिन सजिलो भएको थियो।
जिल्ला डिभिजन वनका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले पासोमा फसेको झन्डै डेढ वर्ष उमेरको पोथी चितुवा स्थानीयको सूचनाका आधारमा राति नै पुगेर नियन्त्रणमा लिइएको बताए। त्यो चितुवालाई डिभिजन वन कार्यालयको प्राङ्गणमा रहेको खोरमा राखिएको छ।
‘स्थानीय किसानले स्याल र वन विरालो नियन्त्रणमा लिनका लागि थापेको पासोमा चितुवा फसेको पाइएको हो,’ चौधरीले भने, ‘कुखुरा खाएर साह्रै क्षति पुर्याएपछि परम्परागत विधिबाट स्थानीयले बनाएको सानो खोरमा चितुवा फसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।’
स्याल र वन विरालोको लागि भनेर निर्मित पासोमा ती किसानले एउटा कुखुरा खोरभित्र राखेको र सोही कुखुरा खान पसेको अर्धबैंस्क अवस्थाको पोथी चितुवा फसेको अवस्थामा फेला परेको चौधरीले जानकारी दिए।
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डिभिजन वन कार्यक्षेत्रभित्र चितुवाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट एक जना र हात्तीको आक्रमणबाट एक जना गरी सात जनाको मृत्यु भएको तथ्याङ्क रहेको चौधरीले सेतोपाटीलाई बताए। त्यस्तै यो अवधिमा चितुवाको आक्रामणबाट थप १० जना घाइते बनेको उनले जानकारी दिए।
वरिष्ठ वन अधिकृत चौधरीका अनुसार हालसम्म प्रदेश सरकार मार्फत मृतकका परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ती उपलब्ध गराउँदै आएको छ। अग्रिम किरिया खर्च बापत १ लाख प्रदान गर्ने गरिन्छ।
डिभिजन वन कार्यालयको सो शीर्षकमा स्वीकृत बजेट ५० लाख सकिएको हुँदा पुन अपुग बजेट माग गरिएको चौधरीले बताए।
वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको तर्फबाट अस्पतालमा उपचार गराउँदा लागेको खर्चको बिल वा भरपाइको आधारमा उपचार खर्च डिभिजन वन कार्यालयले प्रदान गर्दै आएको छ।
चौधरीका अनुसार घाइतेको उपचार गर्दा लागेको दुई लाखसम्मका अस्पतालको बिल सहजै भुक्तानी पाउने र त्योभन्दा बढी खर्च भए निवेदन वा आपसी समझदारीमा हुने गर्छ।
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूचना अधिकारी सरोजमणि पोखरेलका अनुसार यो वर्ष बाघको आक्रमणबाट सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका –५ गेरूवानीका ५७ वर्षीय गंगादेवी सारू मगरको मात्रै मृत्यु भएको बताए।
पुस २३ गते बर्दिया निकुञ्जको बाघको आक्रमणबाट सारूको मृत्यु भएको बाहेक अन्य घटना नभएको उनले जानकारी दिए।
निकुञ्जभित्र चितुवाको आक्रमणका घटना नभएको उनले जानकारी दिए।
त्यस्तै, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट हालसालै लगालग तीन जनाको मृत्यु भएको पाइएको पोखरेलले जानकारी दिए। यी घटनापछि निकुञ्जबाट भेटनरी डाक्टर सहितको टोली बाघको पहिचान गरी नियन्त्रणमा लिनको लागि खटाइएको र त्यो टोली अझै उतै रहेको सूचना अधिकारी पोखरेलले जानकारी दिए।
सूचना अधिकारी पोखरेलका अनुसार बाघ गाउँतर्फ गएको नभई निकुञ्ज क्षेत्रका जंगलमा विचरणका लागि जाने गर्दा घटनाहरू हुने गरेको बताए।
‘निकुञ्ज क्षेत्रका मध्यवर्ती क्षेत्रमा मानिस एक्लै जानु भएन,’ पोखरेलले भने, ‘बाघ हिँडेको ठाउँ वा बाघ भएको ठाउँमा मानिस जानै नहुने हो र गएपछि समूहमा मात्रै जानुपर्छ।’
कालिमाटी गाउँपालिकाले माग्यो तत्काल बाघ मार्ने अनुमति
लगालग एक साताभित्रै तीन जना स्थानीयको बाघको आक्रमणबाट मृत्यु भएपछि सल्यानको कालिमाटी गाउँपालिकाले बाघ मार्ने आदेश माग गरेको छ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीले मंगलबार डिभिजन वन कार्यालय खलंगा सल्यानमा पत्रकार गर्दै प्रचलित कानुन बमोजिम बाघ मार्ने आदेश तत्काल जारी गरिदिन पत्राचार गरेका छन्।
पुस २३ गते बाघले कालिमाटीको सीमा क्षेत्र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–५ गेरुवानीका ५७ वर्षीय गंगादेवी सारु मगर, पुस २५ गते कालिमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २९ गते कालीमाटी– ६ हात्तीढुंगाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको भन्दै अध्यक्ष खत्री केसीले बाघ मार्ने आदेश माग गरेका हुन्।
त्यस्तै, बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको बाँकेको राप्ती सोनारी गाउँपालिका – १ सौरीका स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको गाई वस्तु चराउन गएको समयमा पुस २१ गते बाघको आक्रमणबाट मृत्यु भएको थियो।
हप्ता दिनमै बाँके, सुर्खेत र सल्यानमा गरी चार जनाको बाघको आक्रमण बाट ज्यान गुमाएका थिए।
बाँके राष्ट्रिय निकुञ्ज तथा सोसँग सीमाना जोडिएका बस्तीमा बाघ प्रवेश गरी निरन्तर मानवीय तथा घर पालुवा पशु चौपायमा क्षति पुर्याउँदै आएको गम्भीर अवस्था रहेको हुँदा तत्काल बाघ मार्ने आदेश दिन उनले माग गरेका छन्।
उल्लेखित घटनाहरूले ती क्षेत्रहरूमा मानवीय जीवन अत्यन्तै जोखिमपूर्ण हुन पुगेको, स्थानीयमा त्रास सृजना हुनुका साथै असुरक्षित अवस्थामा धकलेको अध्यक्ष खत्री केसीले बताएका छन्।
साथै उनले नागरिकको जीवन रक्षा गर्ने संवैधानिक दायित्व राज्यको भएपनि गम्भीर प्रश्न गरेको हुँदा बस्तीमा पसेर मानवीयका साथै तथा स्थानीयका पशुचौपायासमेत क्षति गर्दै आएको बाघको पहिचान गर्न मार्न पाउनु पर्ने आदेश माग गरेका छन्। समस्या ग्रस्त बाघलाई तत्काल मार्ने आदेश नभए थप मानवीय क्षति हुने प्रबल संभावना रहेको भन्दै उनले बाघ मार्न अनुमति खोजेका छन्।