अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार युद्ध सुरू गरे पनि चीनले गत वर्ष इतिहासकै सबभन्दा धेरै व्यापार नाफा गरेको छ।
चीनको भन्सार प्रशासनले बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार सन् २०२५ मा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यापार नाफा १२ खर्ब डलर पुगेको छ।
सन् २०२४ मा चीनको व्यापार नाफा ९ खर्ब ९२ अर्ब डलर थियो। गत वर्ष भने ११ महिनामै १० खर्ब डलर नाघेको व्यापार फाइदा वर्षको अन्त्यमा १२ खर्ब डलर पुगेको ब्लुमबर्गले जनाएको छ।
गत डिसेम्बरमा अमेरिका निर्यातमा भारी गिरावट आए पनि दक्षिण पूर्वी एसिया र युरोप जस्ता क्षेत्रहरूमा भएको निर्यातले त्यसलाई भरथेग गर्यो। समग्र निर्यात अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले बढेको छ।
अक्टोबर महिनामा ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको व्यापार नाफा झन् बढेको हो।
ट्रम्पले दोस्रो कार्यकालमा फेरि चीनसँग व्यापार युद्ध सुरू गरे पनि चीनको निर्यात घटेको छैन।
उच्च भन्सार लगाएकै कारण ट्रम्पको दोस्रो कार्यकालमा चीनको अमेरिकामा हुने निर्यात केही घटेको छ। तर पनि अरू देशमा झन् धेरै बेचेका कारण चीनको समग्र निर्यात सेप्टेम्बर महिनासम्म अझ बढेको थियो। अक्टोबरमा भने अमेरिकामा हुने निर्यात २५ प्रतिशतले घटेका कारण समग्र निर्यात केही घटेको थियो।
तर ट्रम्प र सीले अक्टोबर अन्त्यमा एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको निर्यात बढेकाले व्यापार फाइदाले कीर्तिमान कायम गरेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)