डिभिजन वन कार्यालय, सल्यानले मान्छे खाने बाघ पक्रन वा मार्न राष्ट्रिय निकुञ्ज समक्ष पत्राचार गरेको छ।
बुधबार कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै मान्छे खाने पाटे बाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधन सहित को नियम ३६ ‘क’ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा पाटे बाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ।
पुस २५ गते बाघको आक्रमणबाट सल्यान कालिमाटी गाउँपालिका–७ की ४२ वर्षीया धनसरी रावत र पुस २९ गते वडा नं.–६ हात्ती ढुंगाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
सिमाना जुटेको क्षेत्रको सुर्खेतको भेरी गंगा नगरपालिका– ५ की ५७ वर्षीय गंगादेवी सारूको पनि बाघको आक्रमणबाट यही बीचमा मृत्यु भएको थियो। यो क्षेत्रमा बाघले स्थानीयका पशु चौपाया पनि मार्दै आएको छ।
सल्यानको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले मान्छे खाने बाघ मार्न आदेश माग गर्दै डिभिजन कार्यालयमा पत्राचार गरेका थिए।
गाउँपालिकाको माग बमोजिम डिभिजन कार्यालयले बाघ मार्न निकुञ्जमा पत्राचार गरेको हो।
केही दिनयता समस्याग्रस्त पाटे बाघको पहिचान गरी नियन्त्रणमा लिनका लागि भेटेनरी डाक्टर सहितको टोली बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती त्यस क्षेत्रमा खटिँदै आएको छ।
कालिमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिका परिवारलाई राहत उपलब्ध गराएको छ।
पीडितको घरमै पुगेर गाउँपालिका अध्यक्ष केसीले प्रति परिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराएका थिए।