सिन्धुलीमा बैंक लुटपाट भएको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पुस २९ गते घ्याङलेख गाउँपालिका-२ हायुटारमा रहेको एसबिआई बैंक शाखामा अज्ञात समूहले तीन करोड ७ लाख रुपैयाँ लुटेको थियो।
यसरी लुटपाट भएको घटनामा शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काभ्रेका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन गिरी, सिन्धुलीका विवेक मगर, छविलाल स्याङ्तान र एक नाबालक छन्।
एसपी लालध्वज सुवेदीका अनुसार घटनामा संलग्नमध्ये छविलाल उक्त बैंक रहेको घरका घरधनी रहेको खुलेको छ।
पुस २९ गते बेलुका साढे ७ बजेतिर उक्त समूह खुकुरी र पेस्तोल बोकेर बैंक छिरेका थिए।
नकाब लगाएका उनीहरूले बैंकका सुरक्षागार्ड रूद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी घाइते तुल्याएका थिए।
त्यसपछि बैंक छिरेर त्यहाँबाट बोरा र झोलामा पैसा बोकेर जंगलतिर भागेका थिए।
यो खबर पाएपछि प्रहरीको टोली बैंकमा पुगेको थियो।
बैंकमा पुग्दा दुई वटा कोठामा कर्मचारी र सुरक्षागार्ड बाँधेर राखिएको अवस्थामा फेला परेको थियो।
उनीहरूको उद्धार गरी प्रहरीले घाइते भएका गार्डलाई उपचारका लागि अस्पताल पठाएको थियो।
त्यसपछि घटनास्थलमा एसपी सुवेदीको कमाण्डमा ५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको थियो।
बैंक लुटपाट भएको खबर गाउँभरि फैलिएपछि गाउँलेहरूले समेत लुटपाटमा संलग्नलाई खोजी गर्न प्रहरीलाई सघाएका थिए।
लुटेराहरूलाई समात्न प्रहरीले स्वीप अपरेशन चलाएको थियो।
‘घटनापछि जिल्लाका नाकाहरू कडाइ गरी व्यापक खोजी सुरू गर्यौं,’ एसपी सुवेदीले भने।
खोजी गर्ने क्रममा त्यही साँझ प्रहरीले एउटा गाडीलाई नियन्त्रणमा लिएको थियो।
घटनास्थल भन्दा दुई किलोमिटर पर भेटिएको बिएडी ०३९८ नम्बरको गाडी र चालक भागवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लियो।
सोधपुछ गर्दा ६ जनाले ‘केटी भगाउने’ भनेर बनेपादेखि नै रिजर्भ गरी सिन्धुली पुगेको बताएका थिए।
जंगलमा खोजी गर्दा प्रहरीले विभिन्न ठाउँमा बोरा भित्र लुकाइएको र छरपष्ट छरिएको अवस्थामा एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ फेला पारेको थियो।
त्यस्तै पुस ३० गते बिहान घ्याङलेख-१ सुकाचुरीबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। यसरी नियन्त्रणमा लिइएका चार जनाबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको थियो।
सोधपुछ गर्ने क्रममा उनीहरूले आफ्नो संलग्नता स्वीकार गरेका थिए।
उनीहरूले लुकाएको थप ८३ लाख ३५ हजार रूपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ।
‘नकाब, पञ्जा, नक्कली प्लाष्टिकको पेस्तोल लगायत बरामद भएको थियो,’ एसपी सुवेदीले भने, ‘उनीहरूमाथि सोधपुछ, बयान र विश्लेषणका आधारमा दुई जना मुख्य व्यक्तिको संलग्नता खुल्यो।’
चतुरमान बज्यु र बैंक रहेको घरका धनी छविलाल स्याङतानलाई पक्राउ गरेको थियो। चतुरमानलाई जंगल आसपास लुकेर बसेको अवस्थामा फेला पारेको हो।
एसपी सुवेदीका अनुसार उनीहरू दुई जनाले गत असोजमै बैंक लुट्ने योजना बनाएका थिए। योजना बनाएर सूचना समेत संकलन गरिरहेका थिए।
गत पुस २३ गते पनि बैंक लुट्न भनेर काठमाडौंबाट दुइटा मोटरसाइकल भाडामा लिएर उनीहरू एसबिआई बैंक पुगेका थिए।
तर त्यसदिन परिस्थिति अनुकूल नदेखिएपछि योजना बिफल भएको भनेर उनीहरूले प्रहरीसँग बताएका छन्।
त्यसरी नै दोस्रो पटक प्रयास गर्न उनीहरू पुस २८ गते काठमाडौंको कोटेश्वरमा भेला भएका थिए। तर त्यस दिन ढिला भएपछि योजना स्थगित गरे।
भोलिपल्ट चारै जना जम्मा भएर सार्वजनिक यातायातमा कोटेश्वरदेखि बनेपा पुगेका थिए।
बनेपाबाट भने केटी भगाउने भनेर उनीहरूले गाडी रिजर्भ गरेको र त्यसमै चढेर घ्याङलेख गएका थिए।
बैंक लुट्न घरधनी छविलाल स्याङतानले हातहतियार, सूचना आदान प्रदान र निर्देशन दिने गरेको देखिएको प्रहरीले जनाएको छ।
उनका जेठान चतुरमान पनि योजना बनाउने मुख्य भूमिकामा थिए। चतुरमान र छविलालको अर्का साथी शशांक आफ्ना अरू साथीहरूलाई भेला पारी बैंक लु्ट्ने भनेर हायुटार गएका थिए।
बैंक बन्द भएपछि साँझपख बैंक छिरेर कर्मचारीलाई नियन्त्रणमा लिइसकेपछि भल्टभित्रको पैसा लुटेर जंगलमा लुकाएका थिए।
नेपाल एसबिआई शाखा कार्यालय घ्याङलेखका अनुसार उक्त दिन बैंकबाट ३ करोड ७ लाख रुपैंया पैसा लुटिएको थियो।
त्यसमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रूपैयाँ बरामद भएको छ।
‘यसमा अझै केही व्यक्ति हुनसक्ने हाम्रो आशंका छ। हामी अझै खोजी र अनुसन्धानमा छौं,’ एसपी सुवेदीले भने, ‘घर धनीले लुट्ने योजना किन बनाए भन्ने खुलेको छैन। उनले घर भाडा नै ३०/३५ हजार मासिक लिने गरेको खुलेको छ।’
पक्राउ परेका सातै जनामाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।