पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार आरोप लागेका व्यक्तिलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गरी पाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको छ।
भ्रष्टाचार आरोपीलाई धरौटीमा छाड्ने आदेश दिएपछि थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले शुक्रबार सर्वोच्च अदालतलमा पुनरावेदन दिएको हो।
विमानस्थल निर्माण मुद्दामा आरोपित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटी र मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गरिएको थियो। यस्तै अन्य आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको थियो।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले उनीहरूलाई मंसिर २३ गते धरौटीमा छोड्न आदेश दिएको हो।
तर प्रतिवादीहरूलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
गत मंसिर २१ गते अख्तियारले प्रदीप अधिकारीसहित ५५ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। त्यतिबेला तत्कालीन ५ जना मन्त्रीहरू समेतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो।
प्रदीप अधिकारी, महेशकुमार बस्नेत, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी, वावुराम पौडेलसहित ५५ जनाविरूद्ध मुद्दा दर्ता भएको हो।