कुनै पनि अपरेसन गर्नुअघि एनेस्थियोलोजिष्टको भूमिका महत्वपूर्ण हुन्छ। सर्जनले सर्जरी गरे पनि कुनै पनि बिरामीको समग्रमा हेर्ने एनेस्थियोलोजिष्टले हो।
कुनै पनि सर्जरीका लागि प्रि-एनेस्थेसिया जरूरी छ भन्ने धेरैलाई जानकारी हुँदैन। अधिकांश बिरामीले प्रि-एनेस्थेसिया भनेको थोरै एनेस्थेसिया दिएर हेर्ने भनेर बुझ्नुहुन्छ खासमा त्यस्तो होइन।
प्रि-एनेस्थेसिया परीक्षण भनेको कुनै पनि बिरामीको समग्र अवस्था कस्तो छ भनेर हेर्ने हो। कुनै पुरानो रोग छ कि छैन भनेर हेर्नु पनि हो।
जस्तो: बिरामीलाई सुगर होला, प्रेसर होला, पहिला मस्तिष्क घात भएको होला या पहिला कुनै अरू अपरेसन होला, यस्ता थुप्रै कुरा एनेस्थेसियाको डाक्टरले केलाउनु पर्ने हुन्छ।
बिरामीलाई कति जोखिम छ, बिरामी कुन स्थितिमा छ भनेर बुझ्न पनि प्रि-एनेस्थेसिया जरूरी छ। यो कुरा बिरामीलाई बुझाउनु किन पर्छ भने कुनै पनि बिरामी जसरी फिजिसियन र सर्जनसँग नजिक हुन्छ त्यसरी एनेस्थेसियाको डाक्टरसँग घुलमिल भएको हुँदैन। त्यसैले एनेस्थियोलोजिष्टलाई पनि बिरामीको अवस्थाबारे कुनै ज्ञान हुँदैन। तर अपरेसन गर्नुअघि बिरामीको सबै अवस्थाबारे एनेस्थियोलोजिष्टलाई जानकारी हुनुपर्छ। त्यसैले अपरेसन गर्नु १/२ दिन अगाडि एनेस्थेसियाको डाक्टरसँग परामर्श लिनुपर्छ।
कतिलाई अपरेसन भन्नसाथ डर लाग्छ, जुन स्वाभाविक पनि हो। यो डर हटाउनलाई पनि एनेस्थेसियाको डाक्टरसँग काउन्सिलिङ लिन जरूरी छ।
बिरामीको मुटुको अवस्था, फोक्सोको अवस्था, उसले कुन कुन औषधि लिएको छ, त्यो औषधि कहिले चलाउने भनेर पनि बुझ्नुपर्छ। जसले गर्दा बिरामीलाई कुन एनेस्थेसियाले काम गर्छ भनेर थाहा हुन्छ।
एनेस्थियोलोजिष्टले हेरेपछि मात्र कुन बिरामीको अपरेसन गर्न मिल्छ, कुनको मिल्दैन भनेर पत्ता लगाउन सकिन्छ।
जस्तो: कुनै बिरामीको सुगरको तह धेरै हुन्छ यस्तो अवस्थामा बिरामीलाई सुगर, प्रेसर नियन्त्रण गराएर औषधि दिनुपर्छ। बिरामीलाई उसको जोखिमबारे जानकारी गराउनलाई पनि प्रि-एनेस्थेसिया चाहिन्छ।
सबै खालको अपरेसनमा प्रि-एनेस्थेसिया जरूरी पर्छ। अझ भन्ने हो भने नेपाल मेडिकल काउन्सिलको नियम नै छ कि इमर्जेन्सी बाहेक सबै बेला प्रि-एनेस्थेसिया परीक्षण गर्नुपर्छ।
बिना परीक्षण कुनै बिरामीलाई एनेस्थेसिया दिन हुँदैन।
धेरैले हामीलाई बेहोस पार्ने डाक्टर भनेर बुझ्छन्। खासमा एनेस्थेसियाको डाक्टर भनेको बिरामीको समग्र स्वास्थ्य अवस्थाबारे बुझ्ने फिजिसियन हो। अनि अपरेटिभ फिजिसियन पनि हो। किनकि हामीले बिरामीको समग्र अवस्थाबारे हेर्छौं।
हामीसँग बिरामीले राख्ने जिज्ञासा भनेको एउटा बिरामीले 'म बेहोस भएपछि उठ्छु कि उठ्दिनँ' भन्ने हुन्छ। 'तपाईं मलाई कसरी बेहोस बनाउनुहुन्छ आधा या पूरा बेहोस गराउनुहुन्छ?' भनेर धेरैले सोध्छन्।
अधिकांश मान्छेलाई म उठ्दिनँ कि भन्ने डर हुन्छ तर खासमा त्यस्तो होइन।
अर्को कुरा उहाँहरूले अपरेसनको बारेमा पनि जानकारी राख्नुहुन्छ। सर्जरीबारे धेरै जानकारी हुने सर्जनलाई हो। हामीलाई समग्र अवस्थाबारे थाहा हुन्छ। अपरेसनपछि आइसियू कति बस्नुपर्ने, निको हुन कति समय लाग्छ? भन्ने खालका जिज्ञासा पनि बिरामीले गर्छन्।
एनेस्थेसियाको इतिहास २ सय वर्षको छ। सुरूआती समयमा अपरेसनका लागि बेहोस पारेका १५ देखि २० प्रतिशत होसमा आउँदैनथे। ५० वर्षको आधुनिक इतिहासलाई हेर्ने हो भने अहिले यो प्रतिशत लगभग जिरो जस्तै छ।
(कन्सल्ट्यान्ट एनेस्थियोलोजिष्ट डा.दीपक भण्डारी नर्भिक अस्पतालमा कार्यरत छन्।)