बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारूको बुधबार बेलुकी बारीमा तोरी उखेल्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए।
छिदनीमाथि चितुवाले बेलुकी साढे ६ बजेतिर आक्रमण गरेको थियो।
खबर पाउनासाथ प्रहरी चौकी कतरनियाबाट प्रहरी सहायक निरीक्षक सर्वजित खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो। घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी निरीक्षक पर्शुराम थारूको कमाण्डमा पनि प्रहरी पुगेको थियो।
पछिल्लो समय बर्दियाका साथै बाँके, सुर्खेत र सल्यानमा बाघको आक्रमणका घटना बढेपछि सर्वसाधारण त्रसित बनेका छन्।
बाँके राष्ट्रिय निकुञ्जको बाघले लगालग बाँकेका साथै सीमावर्ती क्षेत्र सुर्खेत र सल्यानमा मानिसहरू खाएपछि त्यसलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय सल्यानले राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ।