अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ७ जनाविरूद्ध अख्तियारले बिहीबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
नेपाल सरकारको नाममा आउनुपर्ने साविक बेतहनी गाविस-४ क कित्ता नम्बरहरू २, ११ लगायतको जग्गाहरू गैरकानुनी ढंगले व्यक्तिको नाममा सिफारिस तथा निर्णय गरेको आरोपमा मुद्दा चलाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार मालपोत अधिकृत ऋषिराम, अशोककुमार भट्टराई, नायक सुब्बा ताराप्रसाद खनाल, कर्णबहादुर पुन, सचिव मानबहादुर बोगटी, डडुवा गाउँपालिका-२ बस्ने लिलावती कैराती, वीरेन्द्रकुमार कुर्मीविरूद्ध मुद्दा दर्ता गराइएको हो।
तत्कालीन अधिकृत ऋषिराम, नासु ताराप्रसाद र तत्कालीन गाविस सचिव बोगटीविरूद्ध २२ लाख ४२ हजार ७२० रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ।
मालपोत अधिकृत अशोककुमार र नासु कर्णसँग २० लाख ८७ हजार २५९ रुपैयाँ, वडा-२ बस्ने लिलावतीविरूद्ध २४ लाख ६७ हजार ७२० र वीरेन्द्रकुमारसँग १८ लाख ६२ हजार २५९ रुपैयाँ बिगो माग दाबी गर्दै माग मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिए।