हर्मोनको गडबडी भयो भने महिलामा धेरै खालका समस्या आउँछन्। हर्मोनको गडबडीले महिनावारी ढिलो हुने अनि हर्मोनकै कारणले महिलामा पनि पुरूषको जस्तै अनुहारमा र शरीरमा रौंहरू पलाउने हुन्छ।
शरीरमा हर्मोनको मात्रा धेरै भएको बेलामा चिटचिटापन आउनु, रिस उठ्नु र अनुहार एकदमै चिल्लो हुने हुन्छ। अनुहारमा अत्यधिक डन्डीफोर आउने र बारम्बार डन्डीफोरले सताउने हुन्छ। कतिपय महिलामा यी समस्या लगायत महिनावारी बन्द हुने पनि हुन सक्छ। यही समस्याले निसन्तानपन पनि निम्त्याउने गर्छ।
महिनावारी हुनुभन्दा अगाडि मुड स्विङ हुनु, रिस उठ्नु, कतिलाई निन्द्रा नलाग्ने हुन्छ। यो सबै एस्ट्रोजनको कमीले हुने हुन्छ। यसलाई भने धेरै ठूलो समस्या मानिँदैन। यसको लागि घरेलु उपचार राम्रो हुन्छ। ध्यान, योग गर्ने, सन्तुलित खानपिनले यस्तो समस्यामा कमी आउँछ। चिया, कफी कम खाने, चुरोट रक्सी नखाने गर्दा यो समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ।
हर्मोनको गडबडीले आउने अर्को समस्या पिसिओएस अर्थात् 'पोलिसिस्टिक ओभरी सिन्ड्रोम' (पिसिओएस) हो। यसलाई पोलिसिस्टिक ओभरियन डिजिज (पिसिओडी) पनि भनिन्छ। पिसिओडी भनेको महिलाको ओभरीमा सानो सानो पानीको फोका आउनु हो। यो समस्या भएको अल्ट्रासाउण्डले पत्ता लाग्छ। यो भनेको शरीरमा हर्मोनको असन्तुलनले महिलाको प्रजनन अंगलाई असर पारेको अवस्था हो। पिसिओडीले गर्दा महिनावारीमा गडबड हुने हुन्छ। जसले गर्दा महिला, पुरूषमा हुने हर्मोनको मात्रा बढ्छ अनि अनुहारमा रौं उम्रिने लगायत देखिन्छ। यसले भविष्यमा गएर निःसन्तानपन देखिन्छ।
महिनावारी रोकिनुभन्दा १/२ वर्ष अगाडिको समयलाई हामी पेरिमेनोपोज भन्छौं र महिनावारी रोकिसकेपछिको एक वर्ष र त्यसभन्दा अगाडिको समयलाई मेनोपोज भन्छौं।
पेरिमेनोपोज र मेनोपोजको समयमा के हुन्छ भने एस्ट्रोजनको मात्रा स्थिर हुन्छ। ४०/४५ वर्ष पुगेपछि एस्ट्रोजोनको मात्रा कमी आउँछ। यसले गर्दा अनुहारमा चिटचिटापन आउने, अनुहार एक्कासि रातो भएर आउने, रिसाउने, राति निन्द्रा नलाग्ने, हात कामेजस्तो हुने, एन्जाइटी भएजस्तो हुने गर्छ। शरीरमा एस्ट्रोजनको मात्रा कमी भएपछि उत्पन्न यस्तो समस्या हुने हुन्छ।
मेनोपोज या पेरिमेनोपोजको उपचारको लागि शरीरमा एस्ट्रोजोनको मात्रा पत्ता लगाएर हर्मोनल थेरापी दिन सकिन्छ भने औषधि पनि खान सकिन्छ। तर सबै बिरामीलाई हर्मोनल थेरापी दिन मिल्दैन।
पिसिओडीका बिरामीमध्ये झण्डै ८० प्रतिशत बिरामीमा मोटोपनाको समस्या हुन्छ। पिसिओडीको प्राथमिक उपचार भनेको तौल व्यवस्थापन नै हो।तौल व्यवस्थापन गर्न सकेमा महिनावारी समयमा हुने, पुरूषमा हुने हर्मोन कम हुने हुन्छ। अनुहारमा डन्डीफोर पनि कम हुन्छ। यसमा पनि हर्मोनल थेरापीमार्फत् उपचार गरिन्छ।
हर्मोनका कारण उत्पन्न हुने रोगको उपचार गर्नका लागि यो कसरी उत्पन्न भयो भनेर पत्ता लगाउनुपर्छ।
जस्तो: कसैलाई निःसन्तानपनको समस्या देखिएको छ भने यसको उपचार पनि त्यही अनुसार गर्नुपर्छ। सधैं महिलाको कारणले मात्र निःसन्तानपन हुँदैन। पुरूष पनि उत्तिकै जिम्मेवार हुन्छ। निःसन्तानपनको उपचार भनेको यसको कारण पत्ता लगाएर गर्ने हो। पिसिओडी छ भने त्यसको उपचार गर्ने, तौल धेरै भएर भएको छ यसको व्यवस्थापन गर्ने लगायतका उपाय अपनाउन सकिन्छ।
निःसन्तानपनको कुनै कारण पत्ता लाग्न सकेन आइभिएफको माध्यमबाट पनि उपचार गर्न सकिन्छ।
हर्मोनको गडबडीले श्रीमान श्रीमतीको सम्बन्धमै असर पार्न पनि सक्छ। एकअर्काप्रतिको आकर्षण घट्ने हुन्छ। जसले गर्दा सम्बन्धमा गडबडी आउन सक्छ।
(मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ डा.उमानाथ अधिकारी नारायणी सामुदायिक अस्पतालमा कार्यरत छन्।)