बाँकेको नेपालगन्ज–१४ की ज्यास्मिन सेखको सानैदेखिको सपना थियो— उच्च शिक्षा पढेर शिक्षक बन्ने। शिक्षक बनेर गाउँघरमा आफूभन्दा साना बालबालिकालाई ज्ञान बाँड्ने।
कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको परिवारका लागि ज्यास्मिनको सपना पूरा गरिदिने क्षमता थिएन। बिहान–साँझको छाक टार्नै धौधौ थियो।
उनका बुबा गाउँमा फलामका औजार बनाउँथे। कुटो–कोदालो बनाएर तीन छोरीहरूको पढाइ र पाँच जनाको पेट भर्नु मुस्किल थियो। त्यसैमाथि उनी पक्षघातबाट थलिएपछि घरमा दुई–चार पैसा कमाएर ल्याउने कोही भएन।
तराईमा अझै पनि कहीँकतै छोरी ठूली बनाएर धेरै पढेलेखेको केटासँग विवाह गरिदिँदा धेरै दाइजो दिनुपर्छ भन्ने कुरीति छ। त्यसैले आर्थिक अवस्था कमजोर भएका कतिपय परिवारले आफ्ना छोरीको सानो उमेरमै कम पढेका केटासँग विवाह गरिदिन्छिन्।
ज्यास्मिनकी दिदी चाँदनीको १२ वर्षको उमेरमा बिहे भएको थियो। ज्यास्मिनको पनि १४ वर्षमै भयो। उनका २६ वर्षीय श्रीमान दुई छोराका बुबा भइसकेका थिए। कान्छो छोरा जन्माउँदा पहिलो श्रीमतीको मृत्यु भएपछि ज्यास्मिनसँग बिहे गरेका थिए।
'यी सबै कुरा मैले बिहे भएर घर गएपछि मात्र थाहा पाएँ,' ज्यास्मिनले भनिन्।
८ कक्षा पढ्दै गरेकी ज्यास्मिनसँग बिहेको कुरा लिएर आउँदा उनलाई पढाउने र दाइजो नलिने भनिएको थियो। तर उनले सोचेजस्तो भएन।
उनका हातमा कापी–कलमको सट्टा दुई बालकको स्याहार–सुसार र घरधन्दाको भारी पर्यो।
'बिहेको पहिलो महिनादेखि नै दाइजोको निहुँमा कुटपिट भयो। धम्की आउन थाल्यो। माइती आउन रोक लगाइयो,' उनले भनिन्।
एक–दुई महिनामै उनी शारीरिक र मानसिक रूपमा थाकिसकेकी थिइन्।
अर्कातिर पक्षघातबाट थलिएका बुवाको अवस्था दिनप्रतिदिन बिग्रिँदै थियो। एक दिन उनी बुबालाई भेट्न माइती गइन्। जीवनको अन्तिम अवस्थामा पुगेका बुबालाई छाडेर उनलाई श्रीमानको घर फर्किन मन लागेन। केही दिन बुबासँगै बसिन्।
श्रीमानले घर नफर्किए सम्बन्ध विच्छेद गर्ने धम्की दिन थाले। सुरूमा उनलाई समाजले के भन्ला भन्ने डर थियो। त्यसपछि माइतीको ढोका खुल्ला होला कि नहोला भन्ने प्रश्नले पनि थिच्यो।
तर उनले यी प्रश्न बेवास्ता गर्दै सम्बन्ध विच्छेदको बाटो रोजिन्।
'सानै उमेरमा बोकाइएको बोझबाट निस्केर अब आत्मसम्मानका साथ बाँच्ने निधो गरेँ,' ज्यास्मिनले भनिन्।
अहिले उनी ८ कक्षामै रोकिएको पढाइलाई निरन्तरता दिँदै बालविवाह विरूद्धको अभियानमा जोडिएकी छन्।
बालविवाह अन्त्यका लागि यसै साता रूपन्देहीको तिलोत्तमामा भएको 'लुम्बिनी प्रदेशस्तरीय किशोरी सम्मेलन' मा सहभागी २० वर्षीया ज्यास्मिनले सम्बन्ध विच्छेदपछि नयाँ जीवन सुरू भएको बताइन्।

'सम्बन्ध विच्छेद गरेर अहिले मलाई कुनै पछुतो छैन। जे निर्णय गरेँ, समयमै सही निर्णय गरेँ भन्ने लाग्छ,' उनले भनिन्।
बिहेको ६ महिना नहुँदै सम्बन्ध विच्छेद गरेकी ज्यास्मिनले अहिले १२ कक्षा पास गरिसकिन्। सिलाइ–कटाइ सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा लागेकी छन्।
फातिमा फाउन्डेसनले गठन गरेको स्थानीय ज्योति किशोरी समूहमा आबद्ध भएर उनी बालविवाह विरूद्धको अभियानमा सक्रिय छिन्। उनी ज्योति किशोरी समूहकी सचिव हुन्।
'समूहबाट गाउँमा बालविवाह विरूद्ध अभियान चलाउने र पढ्नेसँगै कपडा सिलाएर महिनामा १०–१२ हजार रूपैयाँ कमाउँछु,' ज्यास्मिनले भनिन्।
शिक्षक बन्ने उनको सपना मरेको छैन। स्नातक पास गरेर, त्यसपछि शिक्षक बनेर गाउँमै सेवा गर्ने सोचेकी छन्।
ज्यास्मिनको पीडा व्यक्तिगत कथा मात्र होइन, तराईका अधिकांश जिल्लामा अझै पनि बालविवाहको कुरीति छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत पुसमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ५ प्रतिशत किशोरकिशोरीको १६/१७ वर्षकै उमेरमा बिहे हुन्छ। तीमध्ये २६ प्रतिशत किशोरी गर्भावस्थामा छन्। ५२ प्रतिशत किशोरकिशोरीले बिहेपछि विद्यालय छाडेका छन्।
बालविवाहमा लुम्बिनी प्रदेश सबभन्दा अगाडि छ। नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा बालविवाहका ५२ घटना दर्ता भएका छन्, जसमध्ये २३ घटना लुम्बिनी प्रदेशका छन्।
२०८१ असारदेखि २०८२ साउन मसान्तसम्म, १३ महिनामा पनि लुम्बिनी प्रदेशमा बालविवाहका १६ घटना दर्ता भएका छन्। यो अवधिमा देशभर बालविवाहका ६१ घटना दर्ता भएकामा सबभन्दा बढी मधेस प्रदेशमा २१ घटना छन्।
कानुनी रूपमा बालविवाह वर्जित छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ अनुसार २० वर्ष उमेर नपुगी बिहे गर्न मिल्दैन। बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालविवाहलाई बालबालिका विरूद्धको कसुर तथा हिंसा मानी यस्तो विवाह गर्ने–गराउनेलाई तीन वर्षसम्म कैद र ७५ हजार रूपैयाँसम्म जरिवाना व्यवस्था गरेको छ।
बालविवाह अपराध भए पनि हट्न नसकेपछि विभिन्न सामाजिक संघसंस्थाले किशोर–किशोरीहरूलाई नै बालविवाह विरूद्धको अभियानमा जोड्दै आएका छन्।
सिर्जनशील संस्था नेपाल, सोइया महिला स्वावलम्बी संस्था, दलित महिला उत्थान संघ, फातिमा फाउन्डेसन नेपाल र मुक्त कमलरी विकास मञ्चले बालविवाह रोकथाम सम्बन्धी सचेतना फैलाउन किशोरकिशोरीलाई संगठित गर्दै आएका छन्।
यसरी जोडिएका किशोरकिशोरीले गाउँघरमा छलफल, सडक नाटक, र्याली लगायत कार्यक्रम गर्दै अभिभावकलाई सम्झाइ–बुझाइ बालविवाह विरूद्ध अभियान सञ्चालन गरिरहेका छन्।

बर्दिया ठाकुरबाबाका १५ वर्षीय यमन परियार श्री जगदम्बा माध्यमिक विद्यालयमा अध्ययनरत छन्। विद्यालयमा गठन गरिएको बाल क्लबमा आबद्ध यमन गाउँमा उमेर नपुगी विवाह हुँदैछ भन्ने थाहा पाए किशोरकिशोरी र अभिभावकलाई सम्झाउन पुग्छन्।
'उमेर नपुग्दै विवाह गर्दा व्यक्तिको वृत्तिविकास मात्र होइन, त्यसको असर सन्तानमा पनि पर्छ। सानैमा बिहे भएपछि पढाइ रोकिन्छ, पढाइ रोकिएपछि रोजगारीमा समस्या आइहाल्छ,' उनी भन्छन्।
बर्दियाको त्रिभुवन बाल क्लबकी अध्यक्ष निर्मला विकलाई आफूसँगै पढ्ने कतिपय साथीको सानैमा बिह भएको सम्झिँदा उनीहरूलाई सम्झाउन नसकिएकोमा पछुतो लाग्छ।
'कतिपय साथीहरूको पढ्दापढ्दै बिहे भएपछि उनीहरूको पढाइ बीचमै छुट्यो,' उनी भन्छिन्।
बाल क्लबमा आबद्ध भएपछि भने निर्मला समूह बनाएर बालविवाहका नकारात्मक पक्षबारे जानकारी दिँदै बालविवाह रोक्ने अभियानमा लागेकी छन्।
किशोरी अवस्थामै विवाह भए पनि समयमै त्यसबाट मुक्ति पाएकी ज्यास्मिनलाई आफ्नै जीवन भोगाइले बालविवाह विरूद्ध अभियानमा सक्रिय बनाएको छ।
'उमेर नपुगी बिहे गर्दा एक वा दुई व्यक्ति मात्र होइन, घरपरिवार नै समस्यामा पर्छ। सानो उमेरमा विवाह गरे पनि मैले समयमै मुक्ति पाउन सकेँ, तर अरू बहिनीहरूले त्यस्तो समस्या भोग्न नपरोस् भनेर यो अभियानमा जोडिएकी हुँ,' ज्यास्मिनले भनिन्।
सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्य पूरा गर्न अभियान सुरू गरिएको सिर्जनशील संस्था नेपालकी निर्देशक प्रतिमा शर्माले बताइन्।