संसारभरी ५८ करोड मानिसलाई मधुमेहको समस्या भएको सन् २०२५ को तथ्यांक छ। त्यसमध्ये भारत, नेपाल लगायतका देशमा मात्र १० करोडलाई यो समस्या छ। संसारमा ५ जनामध्ये एक जनामा मधुमेह भएको देखिन्छ।
मधुमेहको एउटा कारण गर्भावस्थामा भिटामिन बी-१२ को कमी हुनु हो। गर्भावस्थामा फोलिक एसिड खाने तर भिटामिन बी-१२ को भने वास्ता नहुँदा बच्चालाई पछि मधुमेहको जोखिम पाइएको छ।
नेपाल, भारतका मानिसहरूको पेट ठूलो हुन्छ। जसले गर्दा मधुमेह बढेको छ।
अर्को कारण सहरीकरण पनि हो। सहरीकरणले खानपिन र व्यायाममा चासो पुगेको छैन। खानपिन र व्यायाममा सन्तुलन नमिलेको हुनाले मधुमेह बढेको छ।
त्यस्तै, वायु प्रदूषणले पनि मधुमेह हुन भूमिका खेल्छ। मधुमेह भएपछि बिरामीले यस्ता लक्षण लिएर आउँछन्।
-धेरै तिर्खा लाग्ने
-छिनछिनमा पिसाब लाग्ने
-तौल अत्यधिक बढ्ने या घट्ने
-घाउहरू छिटो निको नहुने
मधुमेह भनेको यस्तो रोग हो जसले टाउकोदेखि खुट्टासम्म जुनसुकै अंगलाई असर गर्न सक्छ। यसले आँखा, मुटु, कलेजो, किड्नीमा समस्या आउन सक्छ। खुट्टामा पनि समस्या आएर घाउ भएर खुट्टै काट्न पर्ने हुन सक्छ।
त्यसैले सुगरले टाउकोदेखि खुट्टासम्मको कुनै पनि अंग छोड्दैन भनेर हामीले बुझ्न जरूरी छ। यस्ता जटिलता नआओस् भनेर हामीले सुगरलाई नियन्त्रणमा राख्नुपर्छ।
पुरानो मेडिकल कलेजमा हामीले मधुमेह तथा मेटापोलिक डिसअर्डर विभाग गठन गरेका छौं। यसमा हामीले मधुमेहले पार्ने अन्य असरको रोकथामका लागि समेत काम गर्छौं। जस्तो: मधुमेहका कारण आँखामा कुनै समस्या छ कि छैन भनेर हेर्नको लागि अत्याधुनिक प्रविधि ल्याएका छौं। त्यस्तै मुटु, कलेजो लगायतका अन्य अंगहरूको परीक्षणका लागि समेत व्यवस्था मिलाएका छौं। अर्थात् मधुमेहका कारण पार्ने स्वास्थ्य समस्याको पहिचानको लागि एकै ठाउँमा सबै सुविधा उपलब्ध छ।
मधुमेहका बिरामीले कस्तो सचेतता अपनाउने?
मधुमेह भएका बिरामीले के खाने, के नखाने, कति खाने यी सबै कुराको हामीले चार्ट बनाएर दिन्छौं। प्रत्येक बिरामीका लागि अलग अलग 'डाइट प्लान' जरूरी पर्न सक्छ। किनकि बिरामीको सुगरको लेबल, उसको तौल अन्य रोग भए/नभएको जस्ता धेरै पक्ष हेरेर मात्र डाइट प्लान बनाउनुपर्छ।
सुगर भएका बिरामीले कस्तो खालको जीवनशैली अपनाउनु पर्छ, व्यायाम कति गर्नुपर्छ भन्ने पनि हामीले रूटिन बनाइदिन्छौं।
सुगरको बिरामी भइसकेपछि चामल, गहुँ, मकै एकदमै कम खानु गर्नुपर्छ। थालभरी भात राख्ने हाम्रो बानी हुन्छ। सुगरका बिरामीले त्यो थालको एक चौथाइ मात्र खानुपर्छ अनि दाल, साग र तरकारीमा धेरै जोड दिनुपर्छ। चिनी र चिनी भएका खाना खान भएन भने जंक फुड पनि सकेसम्म खानु हुँदैन।फलफूलमा एउटा खान मिल्यो।
हप्ताको ५ दिनमा ३० देखि ४० मिनेट दिनदिनै हिँडेको राम्रो हो। यति गर्न सकियो भने सुगरलाई नियन्त्रण गर्न सहज हुन्छ।
(मधुमेह रोग विशेषज्ञ डा.पेशल आचार्य भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्।)