त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ कर्मचारी सुनसहित पक्राउ परेका छन्।
मंगलबार बिहान ७:२३ बजे विमानस्थलमा सरसफाइ गर्ने कर्मचारीलाई ४.४ ग्राम सुनसहित पक्राउ गरेको एसपी राजकुमार सिलवालले जानकारी दिए।
पक्राउ पर्ने व्यक्ति डिकबहादुर राउत छन्। उनी सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत सफाइ गर्न खटिएका थिए।
उनले डस्टबिनको प्लास्टिकसहित फोहोर उठाएको र शंका लागेर स्क्रिनिङ गर्दा सुन भेटिएको एसपी सिलवालले बताए।
‘फोहोर भित्र सुन पोको पारिएको अवस्थामा सुन फेला परेको हो। उनले जानीजानी लुकाएर ल्याएको हो वा अरू कसैले ल्याएर छाडेको सुन उनले लिएको हो भन्ने अनुसन्धानमा खुल्छ,’ सिलवालले भने।
अनुसन्धानका लागि विमानस्थलको भन्सार कार्यालयमा बुझाइएको छ।