धादिङको बस दुर्घटनामा परी च्यापिएका यात्रुको पाँच घण्टा पछि उद्धार भएको छ।
दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि उद्धार गरिएको हो।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे बस अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो। त्रिशुली नदी किनारामा खसेको बसमा ललितपुरको इमाडोलका मानन्धर पनि सवार थिए।
दुर्घटना पछि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली उद्धारका लागि घटनास्थलमा पुगेका थिए।
उद्धारका लागि खटिँदा टोलीले पाँच घण्टापछि मानन्धरको उद्धार गर्न सफल भएको हो।
भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर बाहिर निकालिएको हो। उनलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए।
पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ।
‘मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए। हामीसँग तुरून्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन। धेरै समय सान्त्वना दिएर राख्यौं, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौं,’ एसपी खड्काले भने, ‘उपचारका लागि काठमाडौं रिफर गरिएको छ, उहाँको अवस्था सामान्य नै देखिएको छ।’
पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ।
एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ।
पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठको मृत्यु भएको हो।
अन्य मृतकको पहिचान खुलिसकेको छैन।
मृत्यु हुने एक जनाको दाहिने हातको नाडीमा रोहित लेखिएको र अर्काको नाडीमा चमेरो र गितारको ट्याटु भएका व्यक्ति छन्।
दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
१० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
-राससको सहयोगमा