टिकटकबाट चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्सीविरूद्ध ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको जनाएको छ।
तुल्सी हाल विदेशमा छिन्। उनले सामाजिक सञ्जालमा आएर भ्रामक सूचना फैलाइरहेको भन्दै परिसरले ध्यानाकर्षण भएको बताएको छ।
प्रहरीका अनुसार उनीविरूद्ध साउन २२ गते कुमार चिमोरियाले ठगी र आपराधिक लाभको कसुरा जाहेरी दिएका थिए।
त्यस कसुरमा अनुसन्धान जारी नै रहेको ललितपुर प्रहरीले जनाएको छ।
त्यस्तै गत कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पत्राचार समेत गरेको प्रहरीले जनाएको छ।
विभागमा गत फागुन १९ गते तुल्सीविरूद्ध उजुरी दर्ता भएको थियो। अनुसन्धानको क्रममा आधार एवं प्रमाणहरू संकलनको काम भइरहेको परिसरले उल्लेख गरेको छ।
परिसरले तुल्सीलाई पनि अनुसन्धानका लागि कार्यालयमा उपस्थित भएर भनाइ राख्न अनुरोध गरेको छ।