वीरगञ्जमा सोमबार सदभाव संयन्त्रको बैठक बसेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ।
बैठकले वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरमा फागुन १० गते बेलुकी भएको घटना तथा त्यसबाट श्रृजित घटनाक्रमको दोषी पक्षलाई स्थानीय प्रशासनले कानूनी दायरामा ल्याउने, त्यसका लागि पीडित पक्षबाट जाहेरी लिएर आवश्यक प्रक्रिया यथाशिघ्र सम्पन्न गर्ने, दोषीलाई कानूनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने निर्णय भएको छ।
त्यसैगरी व्यक्तिगत घटना दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, हेट स्पिच प्रशारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउन निर्णय पनि बैठकले गरेको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका नेता बालगोपाल थापाले जानकारी दिए।
आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै सम्पूर्ण सरोकारवालाहरूले विज्ञप्ति जारी गर्ने निर्णय समेत बैठकले गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं ११ मा आइतबार साँझ दुई फरक समुदायका बीच तनाव उत्पन्न भएको थियो।
सोमबार बिहान पनि प्रदर्शन सुरू भएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतले सामाजिक सद्भाव बिगार्न खोज्ने एक जनालाई पक्राउ गरिएको जानकारी दिए।
आइतबार साँझ सवारी पार्किङको विषयलाई लिएर छिमेकी छिमेकीबीच झगडा भएको थियो। सोही विवाद बढ्दै गएर झडपको अवस्थामा परिणत भएको डिएसपी हरिबहादुर बस्नेतले बताए। झडपका क्रममा केहि युवा घाईते भएका थिए।
आइतबारको घटनालाई लिएर सोमबार पुनः तनावको वातावरण उत्पन्न भएपछि स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बिहान पौने १० बजेदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ। पूर्वमा वाईपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरिएको छ।
यी क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने कर्फ्यू आदेशमा उल्लेख छ।
अत्यावश्यक सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव बहान, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, विश्व विद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थीहरू एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारी साधनहरु, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा यात्रुहरुको आवागमनमा सहजीकरण गरिने आदेशमा भनिएको छ।
यसअघि पुसमा पनि फरक धार्मिक समुदायका बीचमा तनाव उत्पन्न भएपछि धार्मिक अगुवा समेतको उपस्थितिमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले स्थायी सद्भाव संयन्त्र गठन गर्ने लगायत ५ बुँदे निर्णय गरेको थियो।
कर्फ्यू खुलाउने वा जारी राख्ने भन्ने सन्दर्भमा भने छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भोला दहालले जानकारी दिए।
‘अहिले स्थिति ठिक छ, कर्फ्यूको सन्दर्भमा छलफल भइरहेको छ,’ उनले भने।