यति बेला राजनीतिक दलका नेता र कार्यकर्ताहरू मतदाता भेटघाटमा व्यस्त छन्।
उम्मेदवारहरूलाई पनि फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत माग्ने चटारो छ।
राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरू मत माग्न गाउँ–गाउँ र बस्ती बस्ती पुगिरहँदा किसानहरू भने खेतबारीमा व्यस्त छन्। तराईका अधिकांश किसानलाई यति बेला खेतबारीमा पाकेको तोरी, आलु स्याहार्ने तथा बर्से तरकारी लगाउने चटारो छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-४ ठाकुर पुराकी ६५ वर्षीय सावित्रा आचार्य खेतमा पाकेको तोरी गोड्न व्यस्त थिइन्।
राजनीतिक दलका नेता तथा उम्मेदवारका गाडीहरूले चर्को स्वरमा चुनावी गीत घन्काउँदै सडकमा धुलो उडाउँदै गुड्दा सावित्रा भने यी सबै तामझाम र कोलाहलभन्दा टाढा आफ्नै माटो र पसिनामा हराइरहेकी थिइन्।
जताततै चुनावको माहौलले छोपिसक्दा उनी भने निर्वाचनमा कसले जित्छ भन्ने भन्दा यसपालि तोरीमा किन कोसा लागेन भन्ने कुरामा चिन्तित थिइन्।
‘यस पटक हिउँदमा आकाशबाट एक थोपा पनि पानी परेन, समयमै पानी नपर्दा तोरी उम्रिनै गाह्रो भयो। उम्रिएको तोरीको बोट पनि सप्रिएन। नसप्रिएको बोटमा कोसा लाग्ने कुरै भएन,’ उनले भनिन्।
बागलुङबाट बसाइ सरेर गएकी सावित्राको वाणगंगामा ६ कट्ठा जमिन छ। आफ्नो जमिनको उब्जनीले परिवारलाई खान नपुग्ने भएपछि उनको परिवारले अर्कैको ६ कट्ठा जमिन अधियामा लिएर खेती गरेको छ। तर यस पटक उब्जनी नभएपछि मिहिनेत मात्र खेर गएको उनले दुखेसो गरिन्।
‘पोहोर साल यही खेतबाट तीन मुरी तोरी भित्र्याएका हौं,' तोरीको मसिनो बोट गोड्दै उनले भनिन्, ‘अहिले त शिला टिप्ने मात्रै भयो। बीऊको लगानी समेत उठेन, उब्जनी त परको कुरा। नेताहरूलाई चुनाव लागेको छ भन्छन् हामीलाई भने भोटभन्दा खेतीपातीको चिन्ता छ।'
सावित्राको एक मात्र छोरा रोजगारीको लागि साउदी अरबमा छन् भने दुई छोरीको विवाह भइसकेको छ। बुहारी र दुई नातिनीसहित रहेकी सावित्रा दु:ख गरेर लगाएको खेतीबाट पनि राम्रो उब्जनी नभएको बताउँछिन्।
बाणगंगा सिउटीका बैधी थारु र रेखा थारु नातामा सासू बुहारी हुन्। उनीहरू घर नजिकैको अर्काको खेतमा तोरी गोड्न व्यस्त थिए।
बाणगंगा गजेहडाकी नन्द्रानी थारुलाई खेती गर्न आफ्नो खेत छैन। उनका एउटा छोरा वैदेशिक रोजगारीमा छन् भने एउटा छोराले नेपालमा गाडी चलाउँछन्। नन्द्रानी पनि बिक्री गर्न अर्कैले प्लटिङ गरेको जमिनमा छरेको तोरी गोड्दै थिइन्।
जताततै चुनावी माहौलले ढपक्कै ढाकिसक्दा पनि तोरी गोड्न कजिएका सावित्रा, बैधी, रेखा र नन्द्रानी जस्ता किसानको अनुहारमा भने चुनाव आएको कुनै उत्साह देखिँदैनथ्यो। बरु, दिनभरि खेतमा झुकेर काम गर्दाको थकाइ अनुहारमा प्रस्ट देखिन्थ्यो।
नेपालका राजनीतिक दलहरूका लागि यो समय सत्ताको गणित पुर्याउनका लागि शक्ति प्रदर्शन गर्ने बेला हो। तर, सावित्रा, बैधी, रेखा र नन्द्रानी जस्ता भुइँ तहका किसान भने हरेक दिन आफ्नो श्रमको मोल जोगाउन सङ्घर्ष गरिरहेका छन्।

आफ्नो जमिन नभएकाहरूलाई दिनभरि अर्काको मेलामा काम गर्नुपर्ने बाध्यता छ भने आफ्नो स्वामित्वमा भएको जमिनको उब्जनीले खान नपुग्नेहरूलाई छिमेकीको खेत अधियामा लिएर खेती गर्नुपर्ने बाध्यता छ।
हरेक निर्वाचनका बेला राजनीतिक दल र तिनका नेताहरू देशमा कृषि क्रान्तिका नारा बोकेर मतदाताको घर आँगनमा मत माग्न पुग्छन्। तर, किसानहरूलाई भने खेतबारीको उब्जनीबाट बीऊ समेत जोगाउन सकिँदैन की भन्ने पिरलो छ। चुनावका बेला बन्ने दल र उम्मेदवारहरूका घोषणापत्रमा किसानको सिँचाइ समस्या र समयमा मल नपाउने दुःख विरलै अटाउँछन्।
‘वर्षभरि खेती गरे पनि छोराले विदेशबाट पैसा पठाउला र घर खर्च चलाउन सकिएला भनेर पर्खनुपर्छ, सावित्राले भनिन्,‘यहाँको उब्जनीले त अर्को पटकलाई बीऊ जोगाउन पनि गाह्रो छ। हरेक पटक चुनाव आउँछन्, जान्छन् हाम्रो समस्या भने जस्ताको तस्तै रहन्छ,’ उनले थपिन्।
फागुन २१ गते चुनाव हुँदै छ भन्ने थाहा पाएकी सावित्रा किसान र गाउँको विकास गर्नेहरूले जित्नुपर्ने बताउँछिन्। ‘जसले चुनाव जिते पनि हामी जस्तो किसानको समस्या बुझ्ने र गाउँको विकास गर्नेले जितोस्, घरमा आएर कसैले खाना पकाइदिने होइन, न त कसैले खेती नै लगाइदिने हो। काम गरेर खान पुग्ने व्यवस्था मिलाइदिए मात्र पनि पुग्थ्यो,’ उनले भनिन्।

'हामीलाई कसले कुन पद पायो भन्नेसँग मतलब छैन, उनी भन्छिन्, जसले जिते पनि हामीलाई खेती लगाउने समयमा मल, उन्नत बीऊ र सिँचाइको लागि पानीको जोहो गरिदिए पुग्छ। किसानलाई चुनावले होइन, उब्जनीले खुसी दिने हो।'
सिउटीका बुधै थारु चुनावको बेला गाउँमा आउने नेताहरूले गर्ने प्रतिबद्धता र किसानको वास्तविक आवश्यकता बिच कुनै तालमेल नदेखिएको बताउँछन्। ‘हाम्रा लागि ठुला ठुला भौतिक विकासका परियोजना भन्दा समयमा मल, बीउ र सिँचाइको सुविधा पुग्नुले ठुलो महत्त्व राख्छ,’ थारुले भने।