भूमिका श्रेष्ठ नेपालकै पहिलो पारलैंगिक (ट्रान्सजेन्डर) महिला सांसद बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फबाट आदिवासी–जनजाति कोटाबाट भूमिका सांसद भएकी हुन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट भने सांसद हुने उनी दोस्रो व्यक्ति हुन्। यसअघि यो समुदायबाट सुनिलबाबु पन्त सांसद भएका थिए। सुनिलबाबु संविधान सभा सदस्य हुने पहिलो समलिंगी पुरूष हुन्।
भूमिका पनि सुनिलबाबुबाट प्रेरित छन्।
करिब दुई दशकअघि राजनीतिमा तानिएकी भूमिकाले सेतोपाटीसँग भनिन्, 'राजनीतिक यात्रा सुरू गर्दा पहिचानका कारण सहज थिएन। सिक्दै, लड्दै अगाडि बढेँ।'
३७ वर्षीया भूमिका किशोर उमेरदेखि नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहित र अधिकारका निम्ति काम गर्ने संस्था ब्लू डाइमन्ड सोसाइटी (नीलहिरा समाज) मा आबद्ध थिइन्। उनका अनुसार यो समुदायबारे संस्थागत र सामाजिक रूपमा आवाज उठ्दै आए पनि नीतिगत रूपमा आवाज उठाउने मान्छे छैनन्। त्यसैले आफू र यो समुदायका अन्य साथीहरूले राजनीतिक यात्रा सुरू गरेको उनले बताइन्।
फरक फरक पार्टीमा आबद्ध हुँदा धेरै ठाउँमा आफूहरूका कुरा पुग्ने उनको भनाइ छ।
'सबै साथीहरू फरक–फरक पार्टीमा आबद्ध छौं,' उनले भनिन्, 'युवाको पार्टी, नयाँ पार्टीमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दा उठाउनुपर्छ भन्ने मलाई पहिल्यैदेखि थियो।'
भदौ २३ गते जेनजी आन्दोलन भएपछि मुलुकमा फेरि चुनाव हुने वातावरण सिर्जना भयो।
'जताबाट भए पनि नीतिगत तहमा हाम्रो समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने लाग्छ,' उनले भनिन्, 'रास्वपाले साँच्चै समुदायको प्रतिनिधित्व गरेर आवाज उठाउने अवसर दियो। यो अवसर भरपुर सदुपयोग गर्नेछु।'
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा 'आइडल' मानिने भूमिका ३८ वर्षकी भइन्। उनको घर काठमाडौं, चन्द्रगिरि नगरपालिका–१४ हो।
उनको जन्म पुरूषका रूपमा भएको थियो। नाम थियो कैलाश।
हुर्किँदै जाँदा उनको आनीबानी परिवर्तन हुँदै गयो। पाँच वर्षकै उमेरदेखि उनलाई दिदीका लुगा लगाएर सजिन मन लाग्न थाल्यो। सुरूका दिनमा परिवारजनले उनको यो व्यवहार बालसुलभ ठानेर खासै ध्यान दिएनन्।
शारीरिक रूपमा छोरा भए पनि कैलाशलाई छोरीजस्तै बन्ने चाहना थियो। उनलाई आफू छोरो हुँ कि छोरी भन्ने अलमल हुँदै गयो। उमेर बढ्दै जाँदा छोरीजस्तै बन्ने चाहना गाढा भयो।
एक दिन उनलाई आमाले यसै भनिन्, 'राम्रो पढेर राम्री बुहारी ल्याउनुपर्छ।'
'आमाले बुहारी ल्याउनुपर्छ भन्दा म बुहारी होइन ज्वाइँ, ल्याउँछु भन्थेँ,' भूमिकाले भनिन्, 'मेरो कुराले आमा झस्किनुभएको थियो। अरू पनि अचम्म परे। परिवारमा अन्योल नै छायो।'
यसपछि आमाले कैलाशको आनीबानी र मनोभाव गहिरोसँग नियालिन्। छोरालाई बुझ्ने र घरमा वातावरण सहज बनाउने प्रयास गरिन्।
कैलाशका लागि समाज, साथी र स्कुल भने सहज हुन सकेनन्।
'घरबाट निस्किएपछि बाटोमा मलाई छक्का, हिजडा, पुलिंग भन्दै उपहास गर्थे,' भूमिकाले त्यो बेला आफूहरूले सुनेका शब्दहरू सुनाइन्, 'ती शब्दका अर्थमा पनि म अनभिज्ञ थिएँ। तर मलाई नै भनेको हो भन्ने थाहा पाउँथेँ।'
नौ कक्षामा पढ्दै गर्दा उनलाई स्कुलबाट निकालियो।
कारण थियो — उनको प्राकृतिक शरीरसँग नमिल्ने विपरीत स्वभाव।
'म विचलित भएँ। खाली भगवानलाई दोष दिन्थेँ। शरीर केटाको अनि आत्मा किन केटीको बनाइदिएको भन्थेँ। म कसरी बाँच्ने? यस्तै प्रश्नले सताइरहन्थे,' भूमिकाले भनिन्, 'त्यो बेला हार मानेको भए सायद आज म जे छु, त्यो हुने थिइनँ।'
स्कुलबाट निकालिएपछि उनको पढाइ टुंगियो। रन्थनिँदा रन्थनिँदै एक दिन उनको भेट ब्लू डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरूङसँग भयो। त्यो बेला कैलाशको उमेर १६ वर्ष थियो।
पिंकी पारलैंगिक महिला हुन्। शरीर र स्वभाव परस्पर विपरीत देखिने आफूजस्ता अरू व्यक्ति पनि भेटेपछि कैलाशलाई यो संसारमा आफू एक्लै होइन रहेछु भन्ने भयो। उनको आत्मबल बढ्यो।
बिस्तारै उनलाई आफू पारलैंगिक महिला भएको थाहा भयो। अनि उनको नाम पनि बदलियो — भूमिका।
उनी आफ्नो नाम भूमिका श्रेष्ठ र लैंगिक पहिचान महिला राखेर नागरिकता बनाउन चाहन्थिन्। उनलाई ब्लू डाइमन्डको एक कार्यक्रममा सहभागी हुन विदेश जानुपरेकाले तुरून्तै राहदानी पनि चाहिएको थियो।
उनले त्यति बेलाका स्थानीय निकाय र जिल्ला प्रशासनका अधिकारीहरूलाई कुरा बुझाउने प्रयास गरिन्। तर उनीहरू भूमिकालाई महिला मान्न तयार भएनन्।
समयमै नागरिकता नबने विदेशमा हुन लागेको कार्यक्रम छुट्ने थियो। त्यसैले उनले समय खेर नफाली कैलाश नाम र पुरूष पहिचानमै नागरिकता र राहदानी बनाइन्।
तर यो पनि सहज थिएन। उनी एयरपोर्टमा केरकारमा परिन्।
'विमानस्थलमा केरकार मात्रै भएन, शारीरिक जाँच पनि भयो,' उनी सम्झिन्छिन्, 'यस घटनाले मलाई साह्रै दुःखी बनायो।'
त्यसपछि उनलाई आफ्नो समुदायको अधिकारका लागि थप लड्नुपर्छ भन्ने लाग्यो। उनले राजनीतितिर पाइला चालिन्। सुरूमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्।
तर समाजमा पहिचानको अन्योलले हुने समस्या रोकिएन।
भूमिकाले महिला पहिचानकै नागरिकता बनाउने अठोट गरिन्। फेरि पनि प्रशासनका अधिकारीहरू मानेनन् र उनको लैंगिक पहिचान 'अन्य' राखिदिने भए।
उनले हार मानिनन्। आफ्नो माग मन्त्रिपरिषदमा पुर्याइन्। अन्ततः सुनुवाइ भयो। मन्त्रिपरिषदले भूमिकाको नागरिकता महिलाको नाममा बनाइदिन जिल्ला प्रशासनलाई स्वीकृति दियो।
यसपछि उनको लैंगिक पहिचान महिला र नाम भूमिका श्रेष्ठ लेखेर नागरिकता बन्यो।
'मैले त अलि धेरै पहुँचका कारण आफ्नो पहिचानसहितको नागरिकता पाएँ। मजस्ता अरू पनि छन्। कतिलाई आफू के हुँ भन्ने पनि थाहा छैन,' भूमिकाले भनिन्, 'म उनीहरूका लागि लड्न चाहन्छु।'
भूमिका सन् २०१९ मा बेलायती संस्था 'एपोलिटकल्स' ले सार्वजनिक गरेको लैंगिक समानताका लागि संघर्षरत सय जना प्रभावशाली व्यक्तिहरूको सूचीमा परेकी थिइन्।
त्यस्तै समुदायमा सकारात्मक परिवर्तन ल्याउन उल्लेखनीय काम गरेकामा उनलाई सन् २०२२ मा अमेरिकी सरकारले 'अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार' ले सम्मानित गरेको छ।
उनी नेपाल सरकारले प्रदान गर्ने 'जनसेवा श्री–२०७८' बाट पनि विभूषित भएकी छन्।
उनको आत्मकथा 'भूमिका' प्रकाशित छ। उनी आफ्नो समुदायको पहिचानकै लागि आत्मकथा लेखेको बताउँछिन्। 'मिस पिंक' प्रतियोगिताकी विजेता रहिसकेकी भूमिकाले नेपाली फिल्म 'हाइवे' र 'कान्छी' मा अभिनय पनि गरेकी छन्।
विभिन्न तरिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहित, अधिकारका निम्ति लडिरहेकी भूमिकाले अब आफ्नो आवाज अझै बलियो बनाउने बताइन्।
'आगामी दिनमा हाम्रो समुदायका कसैले पनि मैले जस्तो समस्या भोग्नु नपरोस् भन्ने लाग्छ,' भूमिकाले भनिन्।