चितवनको शान्तिपुर स्थित पुलिस स्कुलमा मंगलबार अचानक ‘साइरन’ बज्यो।
साइरन बज्दै गर्दा कतिपय शिक्षक, विद्यार्थी भागेर चौरमा निस्किए।
केहि कक्षामै ढले, डेस्क बेञ्चले किचेर घाइते भए। कोहि सम्हालिएर घाइतेको उद्धार गर्नतिर लागे। प्राथमिक उपचार जानेकाहरु घाइतेको उपचार गर्न थाले।
कसैले एम्बुलेन्स बोलाए। एकैछिनमा स्ट्रेचर लिएर आपतकालीन उद्दार टोली आयो। घाइतेलाई एम्बुलेन्समा हालेर अस्पतालतिर उपचार गर्न लगियो।
यो वास्तविक घटना नभई विपद पूर्व तयारीका लागि गरिएको कृतिम अभ्यासका क्रममा देखिएको दृश्य हो।
पुलिस स्कुलमा अध्यापन भइरहेको खण्डमा भूकम्प आउँदा कसरी जोगिने, घाइतेको उद्दार कसरी गर्ने? कसरी सुरक्षित स्थानमा लैजाने? प्राथमिक उपचार र व्यवस्थापन कसरी गर्ने? भन्ने बारे शिक्षक, विद्यार्थी र कर्मचारीहरुलाई प्रशिक्षण दिइएको थियो।
आपतकालीन अवस्थामा पहिला आफू कसरी सुरक्षित बस्ने, अरुलाई कसरी बचाउने, घाइतेको उद्दार र व्यवस्थापन कसरी भन्ने बारेमा सिकाइएको थियो।
कृतिम अभ्यास अघि कक्षा कोठामा हुँदा कसरी सुरक्षित बस्ने? कक्षा शिक्षकको भूमिका के हुने? सुरक्षित पहिचान गरी कसरी त्यहाँसम्म पुग्ने? कुन कक्षाका शिक्षक विद्यार्थी कहाँ जम्मा हुने? लगायतका विषयमा विपद पूर्व तयारी योजना बनाइएको थियो।
घाइतेको उद्दार, उपचार, खोजतलास तथा अन्य निकायसँग समन्वय कसरी गर्ने? भन्ने बारेमा जानकारी गराइएको थियो। प्रशिक्षण पछि शिक्षक, विद्यार्थी र कर्मचारीहरुलाई कृतिम अभ्यासमा संलग्न गराइएको हो।
नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले विश्वमै ११ औं स्थानमा छ। नेपालमा ०७२ वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्यूडको महाभूकम्प गयो। त्यसअघि र पछि पनि समय समयमा नेपालमा भूकम्प गइरहेको हुन्छ।
प्रशिक्षणका क्रममा विपद व्यवस्थापनमा कार्यरत सहायक प्रहरी निरीक्षक अर्जुन पौडेलले भूकम्प, आगलागी, चट्यांङ, हावाहुरी जस्ता विपद आउँदा कसरी सुरक्षित हुने, शिक्षक, विद्यार्थी एवं कर्मचारीहरुले आफू सुुरक्षित रहेर अरुलाई कसरी मद्दत गर्ने भन्ने बारे बताएका थिए।
शैक्षिक सत्रमा आकस्मिक विपदको घटना घट्दा कुन शिक्षक कर्मचारीहरुले के कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा जिम्मेवारी प्रदान गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
‘विपदका घटना कति बेला आउँछ भनेर पुर्वानूमान गर्न सकिंदैन, जति बेला पनि आउन सक्छ तर कसरी सुरक्षित रहने भनेर पूर्व जानकारी भयो भने त्यसबाट हुने क्षति कम गर्न सकिन्छ,’ उनले भने, ‘विद्यालयमै बालबालिकालाई विपदमा कसरी सुरक्षित बस्ने भनेर सिकाउँदा जीवनभरका लागि लाभदायक हुन्छ।’
‘घर जस्तै सेवा, परिवार जस्तै हेरचाह’ भन्ने मूल नारा सहित विद्यालयले वैशाख २१ गते विद्यार्थीको स्वास्थ्य परीक्षण समेत गरेको थियो।