गएको मार्च २१ तारिख परेको इद उल फितरको दिन नेपाली मिडियामा छ्यापछ्याप्ती एक खबरले धेरैलाई झसंग बनायो — इरानदेखि दक्षिणतिरको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट इरानले कब्जामा लिएको पानीजहाजका चालक एक नेपाली युवा पनि!
सात जना चालक दलसहित खाडीको अति व्यस्त जलक्षेत्रबाट पक्राउ परेका ती पानीजहाज चालक हुन् — उदयपुरको त्रियुगा नगरपालिकाका ३२ वर्षीय अमृत झा।
अहिले विश्व समाचारमा लगातार छाइरहेको खाडीको तेल निकास हुने व्यस्त स्ट्रेट अफ हर्मुज जलक्षेत्रबाट पानीजहाज मार्फत तेल ओसारपसारमा व्यस्त रहँदै आएका अमृत झा चालक दलसहित अचानक इरानी नियन्त्रणमा पुगेपछि परिवार आफन्तजनसँगै धेरै नेपालीहरू चिन्तित हुन पुगे।
पक्राउ परेका अन्य ६ जना भारतीय नागरिक भएको बताइएको छ।
त्यस क्षेत्रबाट विश्वको २० प्रतिशत तेल आपूर्ति हुन्छ। तर जारी लडाइँका कारण आपूर्ति असहज बनेकाले विश्व बजारमा पेट्रोलियमको अभावसँगै चर्को मूल्यवृद्धि भइरहेको छ।
इरानले नेपाली युवा समातेको खबर त्यस जलक्षेत्रबाट तेल ओसारपसार गर्ने पानीजहाजमा इरानले हमला तीव्र गरेका बेला आए पनि अमृत झा भने इरान युद्ध सुरू हुनुभन्दा करिब दुई महिनाअघि नै पक्राउ परिसकेका थिए।
उनीविरूद्ध इरानले लगाएको अभियोग र नेपालले थालेका कूटनैतिक पहलबारेको चर्चा केही तल गर्नेछु।
तर नेपालको चिन्ता अहिलेसम्म पूरै हटिसकेको छैन, किनभने इरानमा फेब्रुअरी २८ देखि इजरेली तथा अमेरिकी हमला जारी छ। अमृत अझै पनि इरानी हिरासतमै छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध जारी हमला छिट्टै रोकिने संकेत दिए पनि त्यसले तत्कालै फलदिने लक्षण लिन सकेको छैन। बरू ट्रम्पको नयाँ–नयाँ धम्कीका कारण इरान युद्ध अझै लम्बिने हो कि भन्ने चिन्ता बढिरहेको छ।
आशाको सञ्चार
नेपाली पानीजहाज चालक अमृत झा पक्राउ परेको खाडी देश र इरानबीचको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट विश्वका लागि आवश्यक २० प्रतिशत तेल आपूर्ति हुने गर्दछ। नक्सा सौजन्य: गुगल अर्थ
तर अमृतकी आमा प्रभावती, बाबा गोबिन्द, दिदी पूजा र बहिनी सुधा हिजोआज केही ढुक्क हुने अवस्था सिर्जना भएको छ।
त्यसको कारणबारे दिदी पूजाले बिहीबार दिउँसो भनिन्, 'हिजो मात्रै उसको भ्वाइस नोट आएको थियो। हामी सुरक्षित छौं, स्वास्थ्य राम्रो छ, कुनै चिन्ता लिनुपर्दैन, हाम्रो रिहाइका लागि नेपाली नियोगले वकिल पनि खटाइसकेको छ भन्दै थियो।'
परिवारजनका अनुसार अमृतले थाइल्यान्डमा गएर पानीजहाज चालकको तालिम लिएका थिए। त्यसपछि करिब १० वर्षदेखि युएईको दुबईका कम्पनीहरूमा आबद्ध भई पानीजहाज चालकको काम गर्दै आएका छन्। उनी पछिल्लो पटक दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए।
इरानले पक्राउ गर्नुअघिसम्म अमृतले छिट्टै घर फर्किने योजना बनाइरहेका थिए। तर उनको त्यो सपना भताभुंग भइदियो।
'जनवरी १२ मा इरानले उनीहरूलाई पक्राउ गरेको खबर आएपछि हामी साह्रै आत्तियौं। बीचमा सम्पर्क पनि नभएपछि हामीले नेपाल सरकारलाई गुहार्यौं। त्यसपछि अहिले भाइसँग फेरि सम्पर्क हुन थालेको छ। अब हामी आशावादी भएका छौं।'
अमृत पक्राउ भएको खबर आएपछि त्रियुगा नगरपालिकाले समेत परराष्ट्र मन्त्रालयलाई पहल गरिदिन आग्रह गरिसकेको छ।
लगत्तै परराष्ट्र मन्त्रालयले इरान मामिला हेर्ने कतारस्थित नेपाली दूतावास तथा तेहरानस्थित नेपाली महावाणिज्यदूतको सहयोगमा अमृतको अवस्था बुझेर उनलाई आवश्यक कानुनी सहायता दिन काम थालिसकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।
अमृत किन पक्राउ परे?
अमृतले चलाएको पानीजहाज दक्षिणी इरानको बन्दर अब्बास नजिकैको केश्म टापूनजिकै पुगेपछि इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएको बताइएको छ। स्क्रिनसट सौजन्यः परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तस्बिरमा अमृत पानीजहाजमा अन्य दक्षिण एसियाली सहकर्मीको छेउमा उभिएका र शान्त देखिन्छन्।
उनी दुबईस्थित ब्ल्याक सी मरिन एलएलसी नामक कम्पनीमा कार्यरत रहेको बताइको छ। तेल ओसार्ने पानीजहाजका चालक उनी अधिकांश समय स्ट्रेट अफ हर्मुज वरपरको समुद्रमा बिताउँथे।
तर एउटा प्रश्न टड्कारो बनेको छ – उनलाई इरानले युद्ध सुरू हुनुअघिको शान्त अवस्थामा किन पक्राउ गर्यो?
नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार उनको जहाज स्ट्रेट अफ हर्मुज नजिकै तेल लिन गएको थियो। तर दक्षिणी इरानको बन्दर अब्बास नजिकैको केश्म टापू नजिकै पुगेपछि इरानी सुरक्षा फौजले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
'त्यही बेला उनीविरूद्ध अवैध रूपमा इरानी जलक्षेत्रमा प्रवेश गर्दै तस्करी गरेको अभियोग लगाइएको रहेछ,' एक कूटनीतिक अधिकारीले भने।
कूटनीतिक पहल 'तीव्र'
पानीजहाज इरानले नियन्त्रणमा लिएपछि चालकदलका केही सदस्यसँगै छेवैमा उभिएका अमृत झा। स्क्रिनसट, सौजन्य परराष्ट्र मन्त्रालय
नेपालमा परिवारजनले अमृतको रिहाइ माग गर्दै आग्रह गरेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहललाई तीव्रता दिएको सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।
त्यसनिम्ति एक इरानी वकिल समेत नियुक्त भइसकेको र उनले अमृतलाई रिहा गर्न काम थालिसकेको उनको भनाइ छ।
'यो विषम परिस्थितिमा पनि हामी इरानी पक्षसँग निरन्तर संवाद र सम्पर्कमा छौं। हाम्रा नागरिकलाई आवश्यक कानुनी सहयोग गर्न सबै खाले पहल गरिरहेका छौं,' उनले भने।
उनका अनुसार पश्चिम एसियाका अन्य देशहरूसँग जस्तै नेपाल र इरानबीचको सम्बन्ध पनि सुमधुर रहँदै आएकाले इरानी पक्षबाट भरपुर सहयोग हुने अपेक्षा गर्न सकिन्छ।
तर त्यसै कार्यमा खटिएका पश्चिम एसिया खटिएका अर्का कूटनीतिज्ञ भन्छन्, 'निरन्तर हमाला खेपिरहेको इरानभित्रको अवस्था यति भयावह छ कि तेहरानमा रहेका हाम्रा महाबाणिज्यदूत आफैं सुरक्षा खोज्दै टर्की पुगेका रहेछन्। तैपनि उनले सक्दो सहयोग गरिरहेका छन्।'
उनका अनुसार इरानभित्र जारी इसराइली र अमेरिकी हमला नरोकिएसम्म स्थिति सहज हुने र अदालती प्रक्रिया अघि बढ्न असम्भव जस्तै छ।
'त्यसो भएपछि मात्र अमृतको रिहाइका लागि इरानभित्र अदालती प्रक्रिया अघि बढ्न सक्छ। जति छिटो त्यहाँको स्थिति सहज हुन्छ, त्यति नै छिटो उनलाई रिहाइ गर्न प्रक्रिया अघि बढ्न सक्छ,' उनले भने।
पूर्वी नेपालको उदयपुरको त्रियुगामा आमाबुबा र दिदीबहिनीहरू भने आफ्नो प्रिय अमृत रिहा भएको र घर फर्किएको सुन्न र हेर्न व्यग्र छन्।
नेपालमा नयाँ सरकार गठन भएपछि आशा अझै बढेको बताउँदै दिदी पूजाले भनिन्, 'हामीलाई आशा छ बालेन सरकारले मेरो भाइ अमृतलाई छिट्टै रिहा गराउन र सकुशल घर फिर्ता ल्याउन पूरै पहल गर्नेछ।'
आमा प्रभावतीले भनिन्, 'ऊ सबैसँग मिल्ने र सबैलाई माया गर्ने स्वभावको छ। उसलाई छिटो घर फिर्ता ल्याउन नयाँ सरकारले काम गर्छ भन्ने हामीलाई धेरै आशा छ।'
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal