वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर घरहरू भत्काउँदा त्यहाँ पालिएका गाईहरू यसै अलपत्र छाडिएको सुनेपछि प्रदीप थापाको टोली त्यसै दिन साँझ त्यहाँ पुगेको थियो।
प्रदीप मठमन्दिर गाईबाच्छा बचाउ समाज विकास अभियान समितिमा काम गर्छन्। उनीहरू देशभरका विभिन्न ठाउँबाट गाईहरू उद्धार गरेर पशुपतिमा पाल्छन्। गाई सँगसँगै उनीहरू आवश्यक पर्दा कुकुर लगायतका घरपालुवा पशु पनि उद्धार गर्छन्।
यो अभियान सञ्चालनमा आएको १३ वर्ष भयो। तर २५ वर्षीय प्रदीप जोडिएको ८ वर्ष पुग्यो।
'हामी खासगरी थापाथलीमा अलपत्र परेका गाईहरूको उद्धार गर्न त्यहाँ पुगेका थियौं। त्यहाँ पुग्दा गाईधनीले नै केही दिनमा लैजाने जानकारी प्राप्त भयो। त्यसपछि हामीले कुकुरलाई देख्यौं,' उनले भने, 'त्यहाँ भत्काइसकिएको घरमा कुकुरहरू आफ्नो मालिक कुरेर बसेका थिए। कतिपय साङ्लोले बाँधिएकै अवस्थामा थिए।'
साँझसम्म मालिक नफर्केपछि कतिपय कुकुरको आँखाभरि आँसु थियो। कोही त ठूलो स्वरले रोइरहेका थिए।
यस्तो दृश्य देखेपछि प्रदीप र उनको टिमले ती कुकुरहरूलाई खाना खुवाए। उद्धार भने गर्न नपरेको उनी बताउँछन्।
'हामीले ती कुकुरहरू लिएर जान्छौं भनेका थियौं। तर प्रहरीले घरधनी लिन आउने भनेकाले तत्काल नलैजान भन्नुभयो,' प्रदीपले भने।
उनका अनुसार यो अभियानले ६ महिना अघिदेखि सडकका कुकुरहरूलाई उद्धार, उपचार र खाना खुवाउने काम गर्दै आएको छ। अहिलेसम्म २५ वटाभन्दा बढी कुकुर उद्धार गरिएका छन्। तिनलाई काभ्रेको पाँचखाल नगरपालिका-१० मा राखिएको छ।
'पछिल्लो समय सडकका कुकुरलाई खाना खुवाउने र उद्धार गर्ने काम गरिरहेका छौं,' उनले भने, 'सुकुम्बासी बास्तीमा पनि कुकुरहरू देखेपछि उद्धार गरेका हौं।'
उनका अनुसार थापाथली बस्तीमा घरधनीले पालेका कुकुरहरूलाई त्यहीँ सामान राखिएको ठाउँमा बाँधेर राखिएको थियो। त्यसैले उनीहरू खाना खुवाएर मात्र फर्किएका थिए। तर दुई/तीन दिनसम्म कोही लिन नआएपछि प्रहरीसँग कुरा गरेर उद्धार गरेको उनी बताउँछन्।
त्यसपछि दोस्रो दिन गैरीगाउँ, मनोहरा लगायत ठाउँमा गएर कुकुर र गाईहरू यसै छोडिएका छन् कि भनेर हेरेको उनको भनाइ छ।
'हामी आफैले पनि बस्ती-बस्तीमा गएर हेरिरहेका छौं। साथै कसैले हामीलाई सम्पर्क गरे गाई र कुकुरको उद्धार गरिरहेका छौं,' उनले भने।
यसका लागि अभियानबाट १५/२० जना युवा सक्रिय रूपमा लागिपरेका छन्। यो कामका लागि सामाजिक सञ्जालबाट विभिन्न सहयोग आइरहेको उनले बताए। कसैले गाईको भिडिओहरू देखेर घाँस परालहरू सहयोग गर्ने गरेका छन्।
धनकुटा घर भएका प्रदीप १८ वर्षको उमेरदेखि सामाजसेवामा लागेका हुन्। उनले त्यति बेला साताको एकपटक पशुपति मन्दिरमा गएर त्यहाँ बस्नेहरूलाई खाना बाँड्ने काम गर्थे।