राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा ९ दिनदेखि ठप्प छ।
वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या आएकोमा आजसम्म पनि चलेको छैन।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले वैशाख २३ गते सूचना जारी गरेर राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या आएकोले मर्मत जारी रहेको उल्लेख गरेको थियो।
आजसम्म पनि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली सुचारू नभएपछि जिल्ला प्रशासन कार्यालयहरूले पनि सूचना निकालेर राष्ट्रिय परिचय पत्र सेवा अवरूद्ध भएको उल्लेख गरेका छन्।
यसले गर्दा सेवाग्राही मर्कामा परेका छन्।
इनरोल गर्दा आउने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले मान्यता गर्ने सेवा अवरूद्ध भएको हो।
यसबाट राष्ट्रिय परिचय पत्रहरूको विवरण सच्याउने सेवा, जन्मदर्ता गर्दाका बखत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त एनआइएन जेनेरेट हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा बायोमेट्रिक रूजु हुने सेवा, राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली एनआइडीएमआइएस सँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरूद्ध छ।
राष्ट्रिय परिचय पत्र प्राप्त गरी प्रणालीबाट पहिले मान्यता भएकाहरूको हकमा राष्ट्रिय परिचय पत्रसँग आबद्ध भएका सेवाहरू भने सुचारू रहेका छन्।
जिल्ला प्रशासन कार्यालयहरूले भने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट अर्को सूचना प्राप्त नहुँदासम्म राष्ट्रिय परिचय पत्रसम्बन्धी कार्य नहुने भन्दै सूचना निकालेका छन्।