जिल्ला प्रहरी कार्यालय तेह्रथुमले पहिलो पटक प्रहरी कर्मचारीका लागि ‘सट्टा बिदा’ कार्यान्वयनमा ल्याएको जनाएको छ।
प्रहरी कर्मचारीको बिदा सम्बन्धी दीर्घकालीन गुनासो सम्बोधन गर्ने उद्देश्यले प्रहरी नियमावली, २०७१ मा व्यवस्था भए अनुसार ‘सट्टा बिदा’ व्यावहारिक रूपमै कार्यान्वयनमा ल्याएको जिल्लाका प्रहरी प्रमुख डिएसपी लक्ष्मण वलीले बताए।
सार्वजनिक बिदाको दिन ड्युटी गर्ने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्थाअनुसार मुलुकमै पहिलो पटक तेह्रथुमले सट्टा तलबी बिदा उपलब्ध गराउन सुरू गरेको डिएसपी वलीले जानकारी दिए।
प्रहरी संगठनभित्र लामो समयदेखि माग अनुसार बिदा नपाउने, आवश्यक परेको समयमा बिदा स्वीकृत नहुने तथा घर बिदा र भैपरी आउने बिदाको पर्याप्त उपयोग गर्न नपाइने विषयमा व्यापक असन्तुष्टि रहँदै आएको छ।
प्रहरी भित्र विशेषतः वर्षमा उपलब्ध ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा समेत पूर्ण रूपमा उपभोग गर्न नपाइने अवस्थाले प्रहरी कर्मचारीको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो बारम्बार उठ्दै आएको तथ्यलाई मध्य नजर गर्दै सट्टा तलबी बिदा कार्यान्वयनमा ल्याइएको वलीले बताए।
प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गतको नियम ८५ मा उल्लेखित ‘सट्टा बिदा’ सम्बन्धी व्यवस्था पहिले नै थियो। तर, त्यसको व्यावहारिक रूपमा कार्यान्वयन भने तेह्रथुमबाट भएको वलीले फोनमा जानकारी दिए।
उक्त प्रहरी नियमावली अनुसार सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने व्यवस्था छ।
कार्यालय प्रमुख वलीका अनुसार लामो समयदेखि बिदा नलिएका वा बिदा जान नपाएका प्रहरी कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा बस्न परिपत्र गरिएको छ।
तीन महिना वा सोभन्दा बढी समयसम्म बिदा नलिने प्रहरी कर्मचारीको विवरण संकलन गरी कारण सोध्दै बिदा उपयोग गर्न निर्देशन समेत दिइएको वलीले बताए।
जिल्ला प्रहरी प्रमुख वलीका अनुसार कार्यालयले पछिल्लो कार्यान्वयनलाई प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा लिइएको छ।
जिल्लामा पहिलो पटक प्रहरी चौकी लेगुवा, धनकुटा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी हवल्दार विशाल खड्काले पहिलो पटक ‘सट्टा बिदा’ उपयोग गर्ने प्रहरी कर्मचारी बनेको डिएसपी वलीले बताए।
हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त बिदा उपयोग गरिसकेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
सात दिन वा सोभन्दा कम अवधिको बिदा बस्न चाहने कर्मचारीले सट्टा बिदा उपयोग गर्न सक्ने व्यवस्था गरिएपछि प्रहरी कर्मचारी खुसी बनेको डिएसपी वलीले बताए।
प्रहरी कर्मचारीहरूले जीवनमै पहिलो पटक कानूनी व्यवस्था अनुसार सट्टा बिदा उपयोग गर्न पाउँदा आफूहरूमा उत्साह, सन्तुष्टि र सकारात्मक मनोबल वृद्धि भएको प्रतिक्रिया दिने गरेको कार्यालयले जनाएको छ।