उच्च पदस्थ नेताहरूलाई ज्यान मार्ने धम्की दिएको कसुरमा पक्राउ परेका प्रकाश पाठकले दुई करोड प्राप्त गरेको बयानमा बताएका छन्।
सरकारी वकिलको कार्यालय काठमाडौंले पाठक, प्रदीप अधिकारी र ताराप्रसाद खरेलविरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दाको अभियोगपत्रमा उल्लेख भएको बयानअनुसार पाठकले नेपाली २ करोड बराबरको ८० लाख फिलिपिन्सको मुद्राको पेसोस पाएको बयान दिएका हुन्।
केही समयअघि पाठकले इमेलमार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। उनको भिडिओहरू समेत खुलेको थियो।
तर पाठकलाई प्रदीप अधिकारीले आफू भ्रष्टाचारको मुद्दाबाट जोगिन परिचालन गरेको प्रहरीको निष्कर्ष छ।
‘प्रदीप अधिकारी भन्ने व्यक्तिले उनीविरूद्ध अख्तियारमा दायर भई अनुसन्धानरत रहेको मुद्दामा प्रभाव पार्नका लागि मलाई समेत आर्थिक प्रलोभन देखाएर अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की दिने सम्मको आपराधिक कार्य गर्न लगाएको हो। अख्तियार प्रमुखलाई मार्ने मनसाय मेरो होइन। सो मार्ने सम्मको धम्की दिन मलाई प्रदीप अधिकारीले लगाएको हो। यसको सम्पूर्ण डिजाइनर, योजनाकार र षड्यन्त्र गर्ने मुख्य व्यक्ति प्रदिप अधिकारी हुन्,’ पाठकले भनेका छन्।
उनले बयानकै क्रममा चिनियाँमार्फत रकम प्राप्त गरेको बयानमा उल्लेख छ। त्यही रकमबाट उनले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको बताएका हुन्।
‘प्रदिप अधिकारीमार्फत मैले हुण्डीको माध्यमबाट फिलिपिन्समा प्राप्त गरेको नगद ८० लाख पेसोमध्ये ७० लाख ६५ हजार पेसो फिलिपिन्समा अपार्टमेन्ट खरिद गर्न, चार लाख ५० हजार पेसो फिलिपिन्समा यसभन्दा अगाडि पक्राउ पर्दा, ५५ हजार पेसो बिआई (अध्यागमन)बाट रेड पर्दा र ५ लाख पेसो आफ्नो चिनजानको फिलिपिन्समा बस्ने अन्य मुलुकको व्यक्तिहरूलाई चाहिनेबेलामा फिर्ता गर्ने गरी दिँदा खर्च गरेको हुँ,’ उनले भनेका छन्।
यद्यपि अपार्टमेन्ट भने आफ्नो नाममा आउने प्रक्रियामै रहेको बताए।
प्रदीप अधिकारीले भने आफूले प्रकाश पाठकसँग चिनजान नै नभएको बताएका छन्।
हुण्डीमार्फत पाठकले रकम प्राप्त गरेको बताएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान अघि बढाएको थियो। तर उक्त कसुरमा अझै पनि अनुसन्धान नै रहेको अभियोगपत्रमा उल्लेख छ।
प्रदीप अधिकारीमाथि सार्वजनिक पद धारण गरी अकुत सम्पत्ति कमाएको भन्दै थप अनुसन्धानका लागि अख्तियारमा समेत लेखेर पठाउने भएको छ।
अहिले पाठकविरूद्ध ६ वटा कसुरमा मुद्दा दर्ता भएको छ।
आपराधिक षड्यन्त्र गर्न नहुने, आपराधिक लाभ लिन नहुने, हुण्डी सम्बन्धी कसुर, विद्युतीय कारोबार ऐन, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको हो। प्रदीप विरूद्ध विद्युतीय कारोबार बाहेक प्रकाशकै झैं कसुरमा मुद्दा दर्ता भएको हो। उनी हाल भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
ताराप्रसाद विरूद्ध आपराधिक लाभ लिन लगाउन नहुने, हुण्डी सम्बन्धी कसुर, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको हो।