ललितपुरमा चितुवाको आक्रमणबाट एक जना प्रहरी हवल्दार घाइते भएका छन्।
बुधबार बिहान महालक्ष्मी नगरपालिका शंखदेवीमा गस्ती जाँदै गर्दा एक्कासि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी हवल्दार प्रेम विक घाइते भएका हुन्।
उनलाई उपचारका लागि सुरूमा किष्ट अस्पताल लगिएको थियो।
त्यहाँ प्रारम्भिक उपचारपछि अहिले टेकु अस्पताल लगिएको छ।
‘किष्ट अस्पतालमा टाँका लगाइएको थियो। ओठमा चोट लाग्यो। अहिले टेकुस्थित अस्पतालमा सुइँ लगाउनुपर्ने भएकाले लगिएको छ,’ उनले भने।
चितुवालाई नियन्त्रणमा लिन वनको टोलीलाई समेत बोलाइएको थियो। तर पछि चितुवा जंगलतर्फ भागेको एसपी मिश्रले बताए।