अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ।
अस्पतालको सेवा प्रवाहमा नर्सिङ र पारामेडिकल कर्मचारीले महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उनीहरूलाई लक्षित गरेर अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो।
नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा अस्पतालका ४ जना नर्सलाई डेजी अवार्डबाट सम्मान गरेको छ।
अवार्ड पाउनेहरूमा नर्सहरू सम्झाना तामाङ, नीलीमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डे रहेका छन्। उनीहरूलाई अवार्ड र सम्मानपत्र प्रदान गरिएको छ।
अस्पतालले उत्कृष्ट नर्सहरूको छनोटका लागि केही समयअघि मनोनयनको प्रक्रिया खुला गरेको थियो। जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीहरुले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो। मनोनयनमा परेकामध्येबाट उत्कृष्ट १० भित्र परेका अन्य ६ जनालाई पनि अस्पतालले सम्मान गरेको छ। उत्कृष्ट १० मा पर्नेहरूमा नर्सहरू सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन रहेका छन्।
नर्सहरूको सेवाभावको कदर र सम्मान गर्ने र उनीहरूको दक्षतालाई अन्तरराष्ट्रिय रूपमा नै पहिचान दिने उद्देश्यले नर्भिक अस्पतालले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो। डेजी फाउन्डेसनमा हालसम्म ४६ देशका ७ हजार ९ सयभन्दा बढी स्वास्थ्य संस्थाहरु आबद्ध छन्।