नुवाकोटमा दुई जना व्यक्ति मृत फेला परेका छन्।
बुधबार बिहान साढे १० बजेतिर म्यागङ गाउँपालिका-४ म्यागङबेशीस्थित छहरामा दुई जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिक्रम लामाले जानकारी दिए।
मृतक सोही ठाउँका ४३ सोमनाथ तामाङ र ३६ को सूर्यमान तामाङ छन्।
उनीहरूमा भरूवा बन्दुकको छर्राले लागेको चोट देखिएको डिएसपी लामाले बताए।
‘छाती र अन्य शरीरका अंगमा छर्राले लागेको जस्तो देखिएको छ। भरूवा बन्दुक हानेको जस्तो देखिन्छ,’ उनले भने।
उनका अनुसार घटना गए राति भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
तर शव आज बिहानमात्रै देखा परेको उनले बताए।
यद्यपि घटनास्थलमा प्रहरी अपराह्न साढे ३ बजेतिरमात्रै पुगेको हो।
‘शव रहेको ठाउँ प्रष्ट देखिएको थिएन। पछि शव अप्ठेरो ठाउँमा लुकाएको जस्तो अवस्थामा देखियो। अहिले मुचुल्काको काम भइरहेको छ,’ उनले भने।