बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (CZOP) को आयोजनामा 'बिहेवारी २० वर्ष पारी' अभियानलाई सार्थकता दिन सञ्चारकर्मीको भूमिका विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
आज ललितपुरमा भएको कार्यक्रममा सहजकर्ता तारक धितालले विवाहको न्यूनतम उमेर २० वर्ष कायम रहनुपर्ने सामाजिक, कानुनी, शारीरिक तथा मानसिक आधारहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
धितालको कार्यपत्रमा जोखिममा परेका सुत्केरीमध्ये अधिकांश कम उमेरमा बिहे भएकाहरू रहेको उल्लेख छ।
‘किशोरावस्थाका आमा बनेकाहरूमा २० वर्ष पछिका आमाको तुलनामा बढी स्वास्थ्य समस्याहरू हुने जसमा ५६% का दरले बढी लामो पीडादायक प्रसूति व्यथा लाग्ने, ३६%का दरले कम तौलको शिशु जन्मने, समय अगावै जन्मने पाइएको छ,’ कार्यपत्रमा भनिएको छ, ‘स्वस्थ तथा सलो नभई विभिन्न समस्याग्रस्त शिशु जन्मने जोखिम तीन दोब्बर हुने, ४०% का दरले मृत शिशु जन्मने तथा शिशु मृत्युदर बढी हुने तथ्यांक छ।’
त्यस्तै, हवाई उद्धार गरिएका गर्भवती तथा सुत्केरी महिला (२०८२ साउन १ देखि माघ १०) मध्ये ५०% व्यक्ति १७ देखि २० वर्ष उमेरका रहेको समेत पाइएको छ।
बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा जिम्मेवार समाज निर्माणका लागि सञ्चार क्षेत्रको सक्रिय भूमिका अझ सशक्त बनाउनुपर्नेमा सहभागीहरूबीच साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।