अजिनो मोटो फोउण्डेशन जापान र जापान एसियन एसोसिएसन एण्ड एसियन फ्र्याण्डशीप सोसाइटीले त्रिभुवन विश्वविद्यालय गृहविज्ञान केन्द्रीय विभागको फुड एण्ड न्युटेसनलाई पूर्वाधारसहितको किचन कार हस्तान्तरण गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट नोरिको अत्सुताले गृहविज्ञान केन्द्रीय विभागलाई सो किचन कार हस्तान्तरण गरिएको हो।
विभिन्न उमेर समूहलाई लक्षित गरी स्थानीय तहमा उपलब्ध खाद्यान्न कसरी सुलभ, स्वास्थ्य र पोषिलो बनाउने उद्देश्यले किचन कार प्रयोग गरी ग्रामीण भेगमा पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ।
सो अवसरमा फाउण्डेशनका तर्फबाट नोरिकोले गृहविज्ञान केन्द्रीय विभागको स्नातकोत्तर र एमफिलका फुड एण्ड न्युटेशनका विद्यार्थीहरूले सिन्धुपाल्चोक र नवलपरासीमा पोषणको अवस्थाबारे गरेको नमूना अनुसन्धानपछि सो क्षेत्रमा विभिन्न समूहका लागि लक्षित गरी पौष्टिक खाद्यान्नको व्यबहारिक सिकाइका लागि किचन कार हस्तान्तरण गरिएको जानकारी दिइन्।
उनले आगामी दिनमा पनि विभागसँग सहकार्य गर्न फाउण्डेशन तयार रहेको बताएकी थिइन्।
सो अवसरमा गृहविज्ञान केन्द्रीय विभागका पूर्व प्रमुखसमेत रहेकी पद्मकन्या बहुमुखी क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानले छनौट गरिएका ग्रामीण भेगका स्कुल, कलेज, महिला समूहसम्म पुगेर किचन कारमा पौष्टिक खाना तयार गर्ने व्यवहारिक ज्ञान प्रदान गरिएको जानकारी गराएकी थिइन्।
प्रधानले गृहविज्ञानको पाठ्यक्रमलाई खाना बनाउने, लुगा धुने र बालबच्चा हुर्काउने विषयका रुपमा मात्र नबुझ्न आग्रह गर्दै पछिल्लो समय बजारको मागलाई सम्बोधन गर्न पाठ्यक्रममा निकै सुधार गरिएको बताइन्।
गृहविज्ञानको पाठ्यक्रमलाई पछिल्लो समय विशिष्टिकृत गरिएको भन्दै फुड एण्ड न्यूटेसन, चाइल्ड डेभेलपमेण्ट विषयको अध्ययन अध्यापनमा विशिष्टिकरणसमेत भइसकेको उनको भनाइ छ।
सो परियोजना अन्तर्गत विभागका विद्यार्थीहरुको सक्रियतामा पाँच वर्षमुनि, ६ देखि १२ वर्ष उमेर समूह, किशोरावस्था, वयष्क, जेष्ठ नागरिक र महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाका लागि लक्षित गरी व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले पोषणसँग सम्बन्धित सचित्र पुस्तक समेत तयार पारिएको छ।