विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन्।
ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल, भारत, बंगलादेश लगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति थियो।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्वडिन प्राध्यापक डा. डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताए।
उनले नेपालमा सैद्धान्तिक शिक्षामा धेरै लगानी भएको तर खोज, अनुसन्धान र नवप्रवर्तनले प्राथमिकता नपाएको शर्माको भनाइ छ।
‘दिगो विकासका लक्ष्य हासिल गर्न कुशल व्यवस्थापन क्षमता चाहिन्छ। विश्वव्यापी सोचलाई स्थानीयस्तरमा विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारले शैक्षिक अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ’, शर्माले भने।
उनले शिक्षा क्षेत्रको बजेट बढाएर मात्रै विश्व बजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिनेमा जोड दिए।
भारतको बनारस हिन्दु विश्वविद्यालयको व्यवस्थापन संकायका प्रमुख प्राध्यापक डा.हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण औजार भएको बताए।
विश्व अर्थतन्त्रको उदाहरण दिँदै डा. सिंहले शक्ति राष्ट्रहरूले अनुसन्धानमा गरेको लगानीले नै अर्थतन्त्रमा प्रतिफल दिएको दाबी गरे।
नेपाल र भारतबीच शैक्षिक क्षेत्रमा पर्याप्त सहकार्य हुन नसकेको भन्दै उनले दुई देशबीच राजनीतिक र सांस्कृतिक सम्बन्ध जस्तै शैक्षिक सम्बन्ध पनि बलियो बनाउनुपर्नेमा जोड दिए।
नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरूले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरू विश्वस्तरीय भएको बताए।
सम्मेलनको निष्कर्षले सरकारलाई नीति निर्माणमा बौद्धिक टेवा पुग्ने चौधरीको भनाइ छ।
शनिबारसम्म चल्ने सम्मेलनमा नेपालका सबै जसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू तथा व्यापार, वाणिज्य, प्रविधि र कानुनका विद्यार्थीहरू सहभागी छन्।