नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श संस्थामाथि पछिल्ला दिनमा भएका अनुगमन, छापा र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार विज्ञप्ती जारी गरी इक्यानले शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजात प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी–अभिभावकमाथिको दुरुपयोग अस्वीकार्य रहेको उल्लेख गर्दै संलग्नमाथि निष्पक्ष र कडा कारबाही हुनुपर्ने जनाएको छ।
इक्यानले केही घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रवृत्ति गलत भएको बताएको छ।
अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने र वैधानिक संस्थालाई सामूहिक रूपमा बदनाम गर्न नहुने संघको भनाइ छ।
संघले प्रशासनिक त्रुटि र आपराधिक ठगीबीच स्पष्ट कानुनी वर्गीकरण आवश्यक रहेको उल्लेख गर्दै नियतपूर्वक गरिएको ठगीमा कडा कारबाही, तर प्रशासनिक कमजोरीमा सुधारको अवसर दिनुपर्ने माग गरेको छ।
संघका अनुसार शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब १ लाख ५० हजार रोजगारी सिर्जना गरेको छ भने आर्थिक वर्ष २०२४/२५ मा १३८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएको छ।