आपत–विपदमा मान्छेले सबैभन्दा सुरक्षित महसुस गर्ने ठाउँ हो घर।
तर बाढीपहिरोको जोखिममा रहेका देशभरका लाखौं नागरिकका लागि आफ्नै घर ज्यान लिने कारण बन्दै आएको छ।
शनिबार बिहान राति कोशी पहाडी जिल्ला पाँचथरमा घर छाडेकै कारण तीन परिवारका सर्वसाधारणको ज्यान जोगिएको छ।
पाँचथरको याङवरक गाउँपालिकाको वडा नम्बर ३ का तीन परिवारले लगातार ठूलो वर्षा भएपछि घर छाडेका थिए। घर छाडेको केहीबेरमै खसेको पहिरोले उनीहरूको घरको बहुसंख्यक हिस्सा पुरिदिएको गाउँपालिका उपाध्यक्ष बाबा मेयाङ्बोले सेतोपाटीलाई जानकारी दिएकी छन्।
'शनिबार बिहान राति अढाई बजेतिर पहिरो खसेर तीन घर पुरेको थियो,' उनले भनिन्, 'त्योभन्दा केहीबेरअघि मात्रै उहाँहरू पहिरो झर्ने डरले घर छाडेर सुरक्षित मानिएको कटेरोमा गएर बस्नुभएको रहेछ।'
राति गड्याङगुडुङ आवाजसँगै पहिरो झर्न थालेपछि स्थानीय घरबाट बाहिर निस्किएका थिए। अहिले विस्थापित परिवारहरू आफन्त र छिमेकीकहाँ बसेका छन्।
उनका अनुसार याङवरक वडा नम्बर १ र ३ मा पहिरोले अहिलेसम्म ५ घरमा क्षति पुर्याएको छ। शनिबार दिउँसो थप दुई घर बस्नै नमिल्ने गरी पुरिएको उनले जानकारी दिएकी छन्।
उपाध्यक्ष मेयाङ्बोका अनुसार लामपोखरी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ।
'लगातारको ठूलो वर्षाले साना–साना पहिरो खसेको आवाज आउन थालेछ। त्यसपछि मानिसहरू भागेर घर छोड्न थाले,' उनले भनिन्, 'तर घरभित्र रहेका सामग्री, चौपाया भने बाढीपहिरोले बगाएको छ।'


पहिरोले स्थानीय मोहनलाल खवास, कबीर खवास र गंगाप्रसाद बेघाको माटो र ढुंगाले बनेको दुईतले घरमा पूर्ण रूपमा क्षति गरेको छ। कबीर खवासका तीन चौपाया पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
पाँचथर पहिरोको उच्च जोखिम क्षेत्रमा रहेको जिल्ला हो। कोशीको आन्तरिक मामिला मन्त्रालयका अनुसार प्रदेशमा हरेक वर्ष सरदर १ लाख १६ हजार घरपरिवार मनसुनजन्य विपदको जोखिममा पर्छन्।
प्रदेश सरकारले अघिल्लो वर्ष विज्ञहरूसहितको टोली बनाएर विपद्बारे अध्ययनसमेत गरेको थियो। त्यो टोलीले गरेको अध्ययन र विपद्को सम्भावित जोखिमको नक्सांकनले डरलाग्दो चित्र देखाएको थियो। जसअनुसार कोशीमा २ हजार ४ सय ६६ घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था गत वर्ष नै थियो।
यसमा अहिलेसम्म कुनै काम हुन सकेको छैन।
समितिको अध्ययन अनुसार पाँचथरमा मात्रै ३ हजार ५ सय ४० घरपरिवार पहिरोको जोखिममा देखिएको थियो। जसमध्ये ५ सयभन्दा बढी परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने समितिको सुझाव थियो।
यस पटक शनिबार बिहान आएको भीषण बाढीपहिरोले पाँचथरमा घर, पुल, सडक र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ।
पाँचथरका प्रहरी प्रमुख अनिश कर्णले निरन्तर वर्षापछि जोखिम बढेको सूचना पाएलगत्तै प्रहरी परिचालन गरिएको बताए।

उनका अनुसार सडक र पुल सञ्जाललाई समेत तहसनहस बनाएको छ। पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुगेपछि आवतजावत बन्द भएको छ। दोभानस्थित मध्यपहाडी लोकमार्गमा निर्माणाधीन पक्की पुल बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरूद्ध बनेको छ।
तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने हिलिहाङको निर्माणाधीन लिम्बुनी बेली ब्रिजका सामग्रीसमेत बाढीले बगाएको छ। लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुंगे पुल बगेको छ भने याङ्बरक–२ दोभानस्थित अर्को पक्की पुलमा पनि क्षति पुगेको छ।
यसैगरी मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्डका विभिन्न स्थानमा पहिरो खसेको, दोभान क्षेत्रमा डाइभर्सन बगेको छ भने सडक सम्पर्क टुटेको छ।
ओयाम बजार आसपासका क्षेत्रमा समेत पहिरो खस्दा सिँचाइ कुलो, खानेपानी र विद्युत सेवामा असर पुगेको छ।
उपाध्यक्ष मेयाङ्बोका अनुसार बाढीपहिरोपछि प्रभावित क्षेत्रमा फोन र बिजुली सेवा पूर्ण रूपमा अवरूद्ध छ।
बाढीले तीन जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। खोलामा बालुवा र लेदो पस्दा संरचनामा असर पुगेको छ।
अन्नबाली र खेतबारीको क्षतिको यकिन विवरण अझै संकलन हुन सकेको छैन।
