गत शुक्रबार मे २९ का दिन सगरमाथा शिखरमा नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो मानव पाइला टेकेको ७३ वर्ष पूरा भयो।
तैपनि किन सगरमाथा र अन्य हिमालले विश्वभरका आरोहीलाई आफूतिर तान्ने क्रम जारी छ?
विश्वका विभिन्न स्थानमा युद्ध द्वन्द्व महामारी र जलवायु परिवर्तनले थोपरेका अप्ठ्याराहरूका कारण सिर्जित नयाँ नयाँ तगाराहरूका बाबजुद यसपालि ८८४९ मिटर अग्लो शिखर चढ्न पहिलेभन्दा पनि धेरै आरोही आए।
आरोहण अनुमति दस्तुरबापत नेपाल सरकारले पहिलेभन्दा धेरै डलर कमायो।
यसबारे चर्चा एकैछिनमा।
मे २९ मा नेपालको आह्वानमा विश्व सगरमाथा दिवस मनाइँदै गर्दा सगरमाथा र हिमाली क्षेत्रको दीगो संरक्षण गर्न विश्व समुदायले अझै धेरै काम गर्नुपर्ने आवाजहरू फेरि बुलन्द भए।
शिखरमा यस पटक ३२ औं पटक पाइला टेकेका सोलुखुम्बूको थामेमा जन्मिएका शेर्पा गाइड कामीरिता शेर्पाले सगरमाथा र अन्य हिमालमा जलवायु परिवर्तनका कारण हिउँ र बरफ पग्लिने क्रम तीव्र भएकोमा चिन्ता व्यक्त गर्ने गरेका छन्।
जलवायु परिवर्तन र हावापानी परिवर्तनका कारण हिमालय क्षेत्रको जनजीवनमा नै असर पर्न थालेको भन्दै उनी र अन्य आरोहीहरूले नेपाल र विश्व समुदायको ध्यानाकर्षण गरिरहेका छन्।
तेन्जिङ हिलारीले ७३ वर्षअघि वसन्त ऋतु रोजेजस्तै सगरमाथाको शिखर ताक्नेहरूले आरोहणका लागि अहिले पनि वसन्त नै रोज्छन्। मे महिनाको दोस्रो, तेस्रो वा चौथो सातामा सगरमाथामा राम्रो मौसम भेटिन्छ, आरोहीहरू भाग्यमानी अनुभव गर्छन्।
मे २९ पछि भने तेन्जिङ र हिलारीको पालामा जस्तै मौसम बिग्रिएर जोखिम बढ्छ।
यसपालि पनि त्यस्तै भयो।
मे २९ सम्म सगरमाथाबाट लगभग सबै आरोही झरिसकेका थिए। अधिकांश त सगरमाथा दिवस मनाउन आफ्नो जिल्ला वा काठमाडौं झरिसकेका थिए। यसपालिको आरोहण यामलाई पश्चिम एसियाको युद्ध वा लगातार लम्बिरहेको रूस–युक्रेन युद्धले असर गर्ने हो कि भन्ने चिन्ता नेपालमा थियो।
तर त्यसले कुनै असर गरेन।
बरू उत्तरी छिमेकी चीनले समेत तिब्बती मोहडाबाट सगरमाथा (चोमोलोङ्मा) आरोहण गर्न अनुमति नदिएपछि आरोहीहरूको भिड नेपाल तिरै ओइरियो। जस कारण नेपाल सरकारको पर्यटन विभागले झन्डै ५०० वटा आरोहण अनुमति दियो। अनुमति नचाहिने नेपाली शेर्पा तथा सहयोगी समेत जोडेर मेमा मात्रै करिब ९०० आरोही सगरमाथाको शिखरमा पुग्न सफल भए।
उनीहरू सगरमाथा आधार शिविरमा भेला भएर माथिल्लो उचाइसँग अभ्यस्त हुँदै गर्दा शिखर जाने बाटोको सुरूतिरै नयाँ अवरोध देखा परेको थियो। खुम्बु आइसफलदेखि अलि माथि एउटा ३० मिटर अग्लो विशाल बरफी पहाड छिचोल्ने चिन्ताले उनीहरू सताइएका थिए।
तर बाटो बनाउने शेर्पाको जुक्ति र अथक प्रयासपछि त्यो अवरोध छिचोलिने उपाय निस्किएको थियो।
मे तेस्रो साता मौसम सफा भएपछि शिखरको बाटोमा तल–माथि गर्दै उचाइमा खेल्न अभ्यस्त हुन थालेका आरोहीहरूको भिड एक्कासि शिखरतर्फ हानिएका थिए। फलस्वरूप मे २० को बिहान मात्रै २७४ जनाले सगरमाथाको शिखर चुमेका थिए। एकै दिन शिखरमा त्यति धेरै आरोही यसअघि कहिल्यै पुगेका थिएनन्।
सन् २०१९ मा एकै दिन २५० भन्दा बढी आरोही शिखरतर्फ लाग्दा बाटोमा आरोहीको ट्राफिक जाम भएको थियो। त्यति बेला आरोही निर्मल पुर्जाले खिचेर साझा गरेको एक फोटो मिडियामा भाइरल भएको थियो।
यो वसन्तका आश्चर्यहरू
कामीरिता शेर्पा मे १७ को बिहानै आफ्नो टोली लिएर सगरमाथाको टुप्पोमा पुगेपछि बिस्तारै अरू आरोहीले पनि उनको पाइला पछ्याउँदै सफलता हासिल गरे। सौजन्य: कामीरिता शेर्पा फेसबुक स्क्रिनसट
यो वसन्तमा सगरमाथामा कैंयौं नयाँ कीर्तिमान बने। तीमध्येका केही रमाइला कीर्तिमान यस्ता छन् –
मे १७ को बिहानै नेपाली शेर्पा गाइड कामीरिता ३२ औं पटक सगरमाथाको शिखरमा उभिएर सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको नयाँ इतिहास रचे। ५६ वर्षमा हिँड्दै गरेका उनले गत वर्षको आफ्नै कीर्तिमान भंग गरेका हुन्।
सोलुखुम्बूको हिमाली गाउँ थामेमा जन्मिएका कामीरिताले एउटा निकै चलेको आरोहण कम्पनीको प्रतिनिधित्व गर्दै आफूसँगै आरोहीहरूको टोली लिएर शिखरको यात्रामा गएका थिए।
त्यसको दुई दिनपछि मे १९ मा चर्चित आरोही लाक्पा शेर्पाले ११ औं पटक सगरमाथा शिखरमा पाइला टेकिन् र त्यो शिखरमा सबभन्दा धेरै पटक पुग्ने महिला बनेर आफ्नै कीर्तिमान भंग गरिन्।
संखुवासभाको मकालुमा जन्मिएकी ५२ वर्षीया लाक्पा अमेरिकामा आफ्नी छोरीसँग बस्छिन्। नेपालमा उनी आफ्ना भाइले चलाएको आरोहण कम्पनीको टोली लिएर सगरमाथा चढ्ने गर्छिन्। यस पटक तिब्बत बन्द भएकाले उनको टोली नेपाली मोहडाबाटै आरोहणमा गएको थियो।
मे २० मा सगरमाथाको शिखरतर्फ अहिलेसम्मकै सबभन्दा ठूलो भिड अघि बढ्यो। त्यसक्रममा २७४ जनाले टुप्पोमा पुग्ने सफलता प्राप्त गरे। त्यो सगरमाथामा यसपालिको अर्को आश्चर्य बन्यो।
त्यसको भोलिपल्ट मे २१ मा टुप्पोमा अर्को कीर्तिमान रचियो – त्यस बिहान जब खुम्बुकै पासाङ सोना शेर्पा नेपालतर्फबाट टुप्पोमा पुगे उनले एक वर्षको अवधिमा पहिलो पटक तीन फरक फरक रूटबाट टुप्पोमा पुगेको कीर्तिमान बनाए। त्यसअघि उनले तिब्बततिरका दुई फरक फरक बाटोमा सगरमाथा आरोहण गरेका थिए।
मे २३ मा पनि अर्को कीर्तिमान बन्यो। त्यस बिहान नेपालकी ट्रान्सवुमन (पारलैंगिक महिला) नीलम पौडेलले सगरमाथाको सफल आरोहण गरिन्। उनको सफलताको नेपाल र अन्यत्रका एलजिबिटिआइक्यू+ लगायतका समुदायले प्रशंसा गरिरहेका छन्।
त्यसको भोलिपल्ट मे २४ को बिहान ब्रिटेनका पर्वतारोहण गाइड केन्टन कुलले २० औं पटक सगरमाथा आरोहण गरे। त्यो सफलतासँगै उनी त्यति धेरै पटक सगरमाथा शिखरमा पाइला टेक्ने पहिलो गैर शेर्पाको रूपमा दरिएका छन्।
यो मेमा केही आरोहीले सगरमाथा र छेवैका ल्होत्से र नुप्त्सेसहितका तीन टाकुरा मानिने चुचुरा, आधार शिविर नपुगिकनै एकै प्रयासमा, आरोहण गर्ने सफलता पनि हासिल गरेका छन्।
रूसीको प्रेरणादायी सफलता
सन् २०१५ मा दुवै खुट्टा गुमाएका रूस्तम नबियभ मे २३ को बिहानै पाखुराको बलले दुवै हात टेकेर सगरमाथाको शिखर पुगेर धेरैलाई आश्चर्यचकित बनाएका थिए। उनको प्रेरणादायी सफलताको विश्वभरि प्रशंसा भइरहेको छ। सौजन्य: एभरेस्ट बेसक्याम्प एड्भेन्चर फेसबुक स्क्रिनसट
तर सम्भवत: सबभन्दा आश्चर्यजनक सफलता दुवै खुट्टा नभएका एक रूसी आरोही रूस्तम नबियभले हासिल गरेका छन्। रूसी पूर्वसैनिक कम्मरमुनि पूरै खुट्टा गुमाएका उनी मे २३ को बिहानै दुवै हात टेकेर पाखुराको बलले सगरमाथाको शिखर पुगेका थिए।
काठमाडौं फर्किएपछि कान्तिपुरसँग कुरा गर्दै उनले सग्लो शरीर भएका मानिसले केही घन्टा संघर्षपछि पार गर्ने शिखरको अन्तिम चरणको उकालो चढ्न उनलाई करिब एक हप्ता लागेको बताए।
उनले बरफी अवरोध र ती बीच गहिरा खाडल (क्रिभास) भएको खुम्बु आइसफल क्षेत्रमा पनि निकै कठिनाइ भोगेको अनुभव सुनाए।
रूस्तम नबियभ सैनिक रहेका बेला सन् २०१५ मा आफ्नो ब्यारेकको पर्खाल ढल्दा दुर्घटनामा परेका थिए। त्यति बेला उनले आफ्ना दुवै खुट्टा गुमाए। तर प्रबल इच्छाशक्तिको अगाडि केही लाग्दो रहेनछ।
आफ्नो ३४ औं जन्मदिनको दिन सगरमाथा आरोहण सुरू गरेका उनले सगरमाथा जाने कठिन बाटोका सबै अवरोध पार गरी छाडे र सुरक्षित फर्किए।
उनको सफलताले धेरैलाई आफ्नो लक्ष्यमा दृढ रहन प्रेरणा दिएको ठानिएको छ।
तर सगरमाथा चढ्न गएका सबै जना भाग्यमानी हुँदैनन्। कैयौं आरोहणमा विफल भए भने यो वसन्तमा कम्तीमा पाँच आरोहीले ज्यान गुमाए। तीमध्ये दुई जना नेपाली, दुई जना भारतीय र एक जना अमेरिका आरोही थिए।
हिमालयन डेटाबेसमा राखिएको जानकारी अनुसार अहिलेसम्म सगरमाथा झन्डै १४ हजार पटक आरोहण भइसकेको छ। त्यसक्रममा ७५६० जना फरक फरक आरोही शिखरमा पुगिसकेका छन्।
तर सगरमाथामा करिब ३५० जनाको ज्यान गइसकेको छ।
सगरमाथा आरोहणको क्रममा औसतमा १.५ प्रतिशत आरोहीको सगरमाथामा ज्यान जाने गरेको छ। जसलाई दोस्रो अग्लो शिखर काराकोरम– २ (K–2) अन्नपूर्ण प्रथमको भन्दा कम मानिन्छ।
यस पटक नेपाल सरकारले आरोहण दस्तुर बढाइएर प्रति विदेशी आरोही १५ हजार अमेरिकी डलर लिएका कारण सरकारले करिब ७४ लाख डलर राजस्व उठाएको अनुमान छ जुन आफैमा अर्को कीर्तिमान हो।
नेपाली शेर्पा र सहयोगीलाई दस्तुर नलिइए पनि नेपाली आरोहीले प्रति आरोही करिब १००० डलर तिर्नुपर्छ।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal