भलिबल खेलेर घर फर्किदै गरेका एक जना किशोरको पहिरोमा परी मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुनको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए।
राप्ती राजमार्ग हुँदै पैदल घर फर्किदै गरेका पुनलाई सोमबार राति करिब १० बजेतिर कपुरकोट गाउँपालिका–५, खारखोलामा पहिरो संगै खसेको रूखले च्यापेको हो।
उनी र साथमा रहेका १८ वर्षीय साथी सुनिल थापा पनि घाइते भएका थिए।
पहिरोले पुरेकोबारे थापाले इलाका प्रहरी कार्यालय लुहामलाई सूचना दिएका थिए। सुचनाका आधारमा लुहामबाट प्रहरी बरिष्ठ नायव निरीक्षक सन्तोष बुढाथोकी नेतृत्वको टोलीले उद्धार गरी श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा पुर्याएको थियो।
त्यहाँ उपचार सम्भव नहुने देखेर अस्पतालले गम्भीर घाइते पुनलाई राति साढे ११ बजे अन्य अस्पतालमा रिफर गरेको थियो।
सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान १ बजे मृत्यु भएको हो।
थापाको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। हाल पहिरो पन्छ्याएर सडक खुलिसकेको छ।