गोरखामा एक जना युवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोरखा नगरपालिका-७ छिपिटोलमा ३२ वर्षीय सन्तबहादुर गुरूङलाई जेठ २७ गते मध्यराति कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखामा लगिएको थियो।
उपचार पछि डिस्चार्ज भएका उनी जेठ २९ गते दिउँसो अचेत भएका थिए। उनलाई अस्पताल लगिएकोमा जेठ २९ गते मृत्यु भएको थियो।
‘डिस्चार्ज भएपछि केही भएको छैन भन्ने हिसाबले थप उपचारका लागि अन्यत्र पनि गएनन्। पछि अचानक लडेर अस्पताल पुर्याउँदा मृत्यु भयो,’ डिएसपी राजकुमार श्रेष्ठले भने।
पक्राउ पर्नेमा २४ वर्षीय वोनस शाक्य, २३ वर्षीय मिङमर गुरूङ, २९ वर्षीय होमराज गुरूङ र २४ वर्षीय सन्तोष गुरूङ छन्।
उनीहरूबीच कुनै रिसइबी वा कारण थिएन। नजिकैको दोहोरी साँझबाट निस्किएको बेलामा उनीहरूबीच सामान्य विवाद हुँदै कुटपिटसम्म भएको डिएसपी श्रेष्ठले बताए।
कुटपिटबाट घाइते भएपछि उनले प्रहरीलाई उजुरी दिएका थिएनन्। पछि मृत्यु भइसकेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरी पक्राउ गरेको हो।