मोरङ कारागारका कैदीबन्दीहरुबाट असुली गरेको अभियोगमा विराटनगरका अभिषेक गिरी पक्राउ परेका छन्। उनलाई शनिबार बिहान विराटनगर–८ स्थित उनकै घरबाट मोरङ प्रहरीले पक्राउ गरेको हो।
मोरङ प्रहरीले दिएको जानकारी अनुसार उनको घरमा प्रहरीले बिहानै छापा मारेको थियो। घरमा खानतलासीका क्रममा केही नभेटिए पनि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी भनाइ छ।
विराटनगरका गिरीको विगत आपराधिक पृष्ठभूमिको थियो।
अहिले एमालेका नेता रहेका पर्शुराम बस्नेतसँगको ‘टसल’ का कारण पहिले चर्चामा आएका उनलाई अदालतमै बस्नेत समूहले घातक हमला गरेको थियो।
शरीर बन्धक तथा अपहरण मुद्दामा जेल सजाय काटेर बाहिर निस्केका उनी पछिल्लो समय कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिए।
अहिले प्रहरीले गिरीमाथि मोरङ कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम असुली गरेको अभियोग लगाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।