त्रिशूली जलविद्युत् आयोजना ३ ‘बी’ मा जेसीबी अपरेटिङको काम गर्दै आएका ३३ वर्षीय जनक शाह भदौ १० को भोटेकोशी बाढीपछि बेपत्ता छन्। बाढी गएको ११ दिन बितिसक्दा पनि उनी न त भेटिएका छन्, न उनको शव नै फेला परेको छ।
जनक दुई वर्षअघि पोखराको ‘फेवा निर्माण सेवा’मा काम गर्न जोडिएका थिए।
पोखरामा करिब ७–८ महिना काम गरेपछि उनी सोही निर्माण सेवामार्फत त्रिशूली जलविद्युत् आयोजना ३ ‘बी’ मा जेसीबी अपरेटरका रूपमा काम गर्न गएका थिए।
दसैंमा घर आउने उनको तयारी थियो।
त्यसैले दाङको तुलसीपुर उपमहानगरपालिका–११, नवलपुरमा रहेका बुवा–आमा आज पनि छोराको प्रतीक्षामा छन्।
जनकले बहिनी बेलमता शाह र तुलसीपुर–११ मा बस्ने मामा ज्ञानु भण्डारीसँग प्रायः सामाजिक सञ्जालमार्फत कुरा गर्थे। बाढी आएको दिन भदौ १० गते बिहान पनि उनले मामा ज्ञानुसँग कुरा गरेका थिए। ‘आज डे ड्युटी छ मामा, ड्युटी सकेर आएपछि बेलुका फेरि फोन गर्छु है,’ जनकले मामालाई भनेका थिए।
तर त्यसपछि उनी सम्पर्कविहीन भए।
जनक जीवित छन् कि छैनन् भन्ने यकिन छैन। लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारलाई भने बाढीले उनलाई बगाएर लगेको हो कि भन्ने शंका छ। बाढीको १० औँ दिनसम्म पनि केही मानिसको जीवितै उद्धार भएकाले परिवारमा अझै झिनो आशा बाँकी छ।
जनकका ६६ वर्षीय बुवा हरिबहादुर शाह र सोही उमेर समूहकी आमा डम्मरकुमारी शाहले जेठा छोरा ३९ वर्षीय मोहनलाई बारम्बार फोन गरेर जनकको खोजीबारे सोधिरहन्छन्।
‘बाढीमा परेर बेपत्ता भएका मानिसहरू दिनदिनै जीवितै उद्धार भइरहेका छन्। कतैबाट हाम्रो जनक पनि आउँछ कि, अझै ६–७ दिन बाटो हेरौं, राम्रोसँग खोजी गरौं भनेर बुवाले भन्नुहुन्छ,’ मोहनको भनाइ छ। आमा भने फोन गर्नेबित्तिकै रुन थाल्ने गरेको उनले बताए।
प्रहरीले मोबाइलको लोकेसन हेर्दा जनकको मोबाइल घटनास्थलबाट करिब ८ किलोमिटर टाढा, त्रिशूली नदीपारि पूर्वतर्फ दिउँसो १ बजेर २६ मिनेटमा स्वीच अफ भएको देखिएको बताइएको छ। उक्त स्थान रसुवा लोहरपौवा क्षेत्र हो।
त्यसैले ज्यान जोगाउन भाग्ने क्रममा जनक कतै जंगलमा पुगेका थिए कि र कतैबाट फर्किएर आउँछन् कि भन्ने आशा मोहनको मनमा अझै छ।
मोहन त्यहाँ पनि पुगेर स्थानीय जनप्रतिनिधि र पसल सञ्चालकसँग सोधपुछ गरिसकेका छन्। उनले नेपाली सेनालाई पनि खोजीका लागि आग्रह गरेका थिए। सेनाले खोजी गर्दा पनि जनक भेटिएनन्।
जनक त्रिशूली ३ ‘बी’ को सुरुङमार्गको मुखमै काम गर्थे। कतै बाढीले हुत्याएर सुरुङभित्र पुर्याएको भए अरूको जस्तै उनको पनि उद्धार हुन सक्छ कि भन्ने आशा पनि परिवारमा थियो। तर भाइको खोजीका लागि सम्भावित कुनै ठाउँ अब बाँकी नरहेको मोहन बताउँछन्।
उनले बर्दघाटको कावासोती प्रादेशिक अस्पताल, धादिङको गजुरीस्थित प्रादेशिक अस्पताल, चितवन उद्योग संघ, नवलपरासी, पोखराका अस्पताल, नुवाकोटको आर्मी ब्यारेकदेखि काठमाडौंको शिक्षण अस्पतालसम्म पुगेर भाइलाई खोजे तर कतै जनक भेटिएनन्।
अब जनक जीवित नरहेको निष्कर्षमा पुग्ने आधार मोहनका लागि घटनाका प्रत्यक्षदर्शी र जनकसँगै काम गर्ने मानिसहरूको भनाइ बनेको छ।
मोहनले आइतबार बिहान जनकसँगै त्रिशूली जलविद्युत् आयोजना ३ ‘बी’ मा काम गर्ने रमेश थिङसँग कुरा गरेका थिए। थिङ बाढी आउँदाको घटनाका प्रत्यक्षदर्शी हुन्। थिङ आयोजनाको अर्को विभागमा काम गर्थे। उनी रातिको ड्युटी सकेर बिहान सुतेका थिए। बिहान करिब ९ बजे उनको निद्रा खुल्यो।
वाइवाका अनुसार जलविद्युत् आयोजना क्षेत्रमा बिहान ९ बजेर २२ मिनेटमा बाढी आइपुगेको थियो।
निद्रा खुलेपछि भोक लागेकाले थिङ खाजा खान केही माथिको बजारतर्फ लागे। बजार पुग्दा उनले भूकम्प आएजस्तो गरी थर्किएको महसुस गरेका थिए। उनले तल फर्किएर हेर्दा बाढीले केही उत्तरतर्फ रहेको त्रिशूली ‘ए’ को ड्याम भत्काइसकेको थियो।
थिङले तत्काल आफ्ना इन्चार्जलाई फोन गरे तर सम्पर्क हुन सकेन। इन्चार्ज सुरुङभित्र गइसकेकोले फोन नलागेको हुन सक्ने उनले बताए। धुवाँ उडाउँदै आएको डरलाग्दो बाढी देखेर थिङ आत्तिए। अब कसलाई खबर गर्ने भन्नेमा उनी अलमलमा परे। उनले डाँडाबाट ‘भाग, भाग, बाढी आयो’ भन्दै कराए।
ठीक त्यही बेला कम्पनीको सिंगल क्याब बोलेरोमा आयोजनाका करिब १५–१६ जना मानिस हतारहतार चढे। कोही गाडीभित्र बसे भने कोही पछाडि चढे। गाडी स्टार्ट भएर अगाडि बढ्यो। तर सुरुङभित्र रहेका इन्चार्जको प्रतीक्षा गर्दा केही ढिला भयो। केहीबेरपछि इन्चार्ज पनि सुरुङबाट दौडँदै निस्किएर गाडीमा चढे। त्यसपछि गाडी तीव्र गतिमा अगाडि बढ्यो।
तर डिल पुग्न करिब ५ मिटर मात्रै बाँकी रहँदा गाडी बाढीको लपेटामा पर्यो। बाढीले आयोजनाका हाकिम, इन्चार्ज, जनकलगायत अन्य कामदार चढेको जीपलाई एकैपटक तीनवटा भवन हुँदै पल्टाइदियो। धुवाँ, धुलो र हिलो मिसिएको त्यो बाढीपछि को कता पुगे भन्ने थिङले पनि थाहा पाउन सकेनन्।
थिङसहित केही मानिस किनारैकिनार केही तलसम्म खोज्दै पुगे तर कसैलाई फेला पार्न नसकेपछि उनीहरू निराश हुँदै फर्किएका थिए। प्रत्यक्षदर्शी थिङको यही भनाइपछि मोहन अब भाइ जनक जीवित नरहेको निष्कर्षमा पुगेका छन्।
मोहनले जनकसँगै काम गर्ने अर्का एक युवकसँग पनि जनकको अवस्थाबारे जानकारी लिए। ती युवक हाल उद्धारपछि काठमाडौंमा उपचाररत छन्।
उनका अनुसार आयोजनाको एउटा जेसीबी दिन र रात चलाउन दुई जना चालक थिए। त्यो रात श्रीकृष्ण नामका चालकले बेलुकीको ड्युटी गरेका थिए र बिहान ७ बजे गएर सुतेका थिए। त्यसपछि जनक बिहान ७ बजेदेखि ड्युटीमा खटिएका थिए।
बाढी आउँदा जनक टिपरले ल्याएका चिप्स जेसीबीको बकेटले चलाएर आयोजनाको सुरुङको मुखनजिकै धुने काम गरिरहेका थिए।
ती युवकले जनकसँग एउटा चुरोट मागेर खाएका थिए।
‘मेरो चुरोट सकिएको थियो। मैले जनक गुरूसँग मागेर एउटा चुरोट खाएको थिएँ,’ मोहनले ती युवकलाई उद्धृत गर्दै भने, ‘त्यसपछि म चुरोट किन्न जान्छु भनेर गुरुसँग बिदा भएर बजारतर्फ उकालो लाग्दै थिएँ। त्यही बेला बाढी आयो। उहाँको अवस्था के भयो, मलाई थाहा भएन।’ ती युवकका अनुसार बाढी आउँदा जमिन नै हल्लिएको जस्तो महसुस भएको थियो।
मोहनले भाइको खोजीका क्रममा जनकले खाजा खाने ‘वाइवा होटल’की सञ्चालकसँग पनि सोधपुछ गरेका थिए। ती महिलाले पनि जनक जीवित भएको भए होटलमा आइपुग्ने बताएकी थिइन्।
‘जनक बाँचेको भए आइहाल्थ्यो। उनी खाजा–नास्ता खान आउने ठाउँ यही होटल हो। अब तपाईंहरूले स्वीकार्नुपर्छ, जनक अब जिउँदो छैनन्,’ उनले भनेकी थिइन्।
मोहनका अनुसार जनकसँगै बेपत्ता भएका अन्य केही व्यक्तिका परिवारले आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गरेर दैनिक जीवनमा फर्किसकेका छन्।
प्रत्यक्षदर्शीका भनाइ, जनकसँगै काम गर्ने सहकर्मीको जानकारी र स्थानीयसँग गरिएको सोधपुछपछि मोहन अब कान्छो भाइ जनक यो संसारमा जीवित नरहेको निष्कर्षमा पुगेका छन्।
‘आज बिहान प्रत्यक्षदर्शी थिङसँग कुरा गरेपछि भाइ जनक जिउँदो छैन भन्नेमा म निश्चित भइसकेँ,’ मोहनले भने, ‘तर म यो कुरा दाबीका साथ बुवा–आमालाई भन्न सकिरहेको छैन।’
जनकका करिब १२ वर्षीय छोरा छन्। उनी सानैदेखि चितवनस्थित मामाको घरमा बस्दै आएका छन्।
मोहनका माइला भाइ ३६ वर्षीय रमेश शाह खाडी मुलुकमा छन्। रमेशले पनि दैनिक फोन गरेर भाइ जनकको खोजीमा अझै सक्रिय भएर लाग्न मोहनलाई आग्रह गर्दै आएका छन्।
बहिनी बेलमता, अन्य आफन्त र गाउँघरका साथीभाइले पनि मोहनलाई बारम्बार फोन गरेर जनकको अवस्थाबारे सोध्ने गरेका छन्। तर मोहनसँग अझै ‘खोजी भइरहेको छ’ भन्नुबाहेक अर्को जबाफ छैन।
भाइको सम्झनाले मोहनलाई अहिले विगतका धेरै कुरा सम्झाइरहेको छ।
मोहन आफै धादिङको मलेखुमा जेसीबी मर्मत तथा पार्टपुर्जाको वर्कसप सञ्चालन गर्दै आएका छन्। दाजुभाइहरू हरेक चाडपर्वमा दाङस्थित घरमा जम्मा भएर रमाइलो गर्थे। यस वर्ष पनि दसैंमा जनकलगायत सबै दाजुभाइ भेट्ने योजना थियो।
तर अब त्यो भेट सम्भव नहुने हो कि भन्ने पीडामा मोहन छन्। ‘यो वर्ष पनि दसैंमा भाइ जनकलगायत सबैसँग भेट्ने कुरा भएको थियो। तर दुर्भाग्य, अब ऊ यो संसारमै छ भन्ने मलाई लाग्दैन,’ उनले भने।
जनकको अवस्था अझै आधिकारिक रूपमा पुष्टि भएको छैन। वृद्ध बुवा–आमा छोरा कतैबाट फर्केर आउला कि भन्ने झिनो आशा बाँकी छ।