बाढीको भेल कस्तो रहेछ भनेर हेर्न तुलाराम देवकोटा बसबाट ओर्लिएका थिए।
उनलाई त्यति बेला थाहा थिएन— एकाध सेकेन्डपछि त्यही भेलले आफूलाई पनि बगाउनेछ। जीवन र मरणको दोसाँधमा पुर्याउनेछ। र, बसभित्र रहेका श्रीमती सपनासहित आफ्नै मान्छेहरूलाई सदाका लागि टाढा लैजानेछ।
गोरखाको पालुङटार–५, नौखोरका तुलाराम संयोगले भोटेकोशी–त्रिशूली बाढीबाट ज्यान जोगाएर घर फर्किन सफल भए।
उनको हात र खुट्टामा चोट छ। तर त्योभन्दा ठूलो घाउ मनमा लागेको छ। उनकी श्रीमती सपनाको शवसमेत फेला परेन।
शुक्रबार मर्स्याङ्दी र चेपे नदीको दोभानमा कुशको शव बनाएर तुलारामले श्रीमतीको अन्त्येष्टि गरे।
'एक महिना अघिदेखि गाउँलेहरूबीच जनैपूर्णिमामा गोसाइँकुण्ड जाने सल्लाह भएको थियो,' उनले भने, 'हामी एउटै बसमा ३६ जना थियौं। सबै मेरा नातेदार र छरछिमेक थिए।'
सल्लाह अनुसार गाउँकै युवा सागर देवकोटाको बस रिजर्भ गर्न तुलाराम र रामहरि देवकोटा गएका थिए। बसमा सबै यात्री नअटाएकाले अर्को सानो गाडी पनि रिजर्भ गरे।
तुलाराम र श्रीमती सपना बसमा थिए।
नौखोर गाउँबाट भदौ १० गते बिहान ४ बजे उनीहरू हिँडे। मलेखु नजिकै पुगेर चिया–नास्ता खाए। त्यसपछि बस अघि बढ्यो।
बसभित्र भजनकीर्तन बजिरहेको थियो। कोही भजनको सुरमा स्वर मिलाउँथे। कोही गफगाफमै व्यस्त थिए।
नुवाकोटको भैंसे पुगेपछि बस रोकियो। त्यही बेला कोही पिसाब फेर्न ओर्लिए।
एक्कासि बस पछाडि सर्न थाल्यो, तब तुलारामले अगाडि भोटेकोशीमा बाढी आएको थाहा पाए।
बाढी देखेरै चालक सागरले बस ब्याक गर्न खोजेका रहेछन्। सागर पनि गाउँले आफन्ती हुन्। बसमा सागरकी आमा, ठूलीआमा, सानीआमा लगायत आफन्त र गाउँका छरछिमेक थिए।
'ड्राइभर बाबुले ब्याक गर्नुको सट्टा हामफालेर भागेका भए बाँच्थे होलान्,' तुलारामले भने, 'आमा र आफन्तको मायाले होला, उनी गाडी लिएरै भाग्न खोजेर ब्याक गरेका होलान्।'
गाडी ब्याक हुन खोज्दा गाउँकै बाबुराम देवकोटा पिसाब फेर्न झरेका थिए। तुलाराम बाढी हेर्न बसबाट ओर्लिए। त्यसपछि केही क्षणमै सबथोक बदलियो।
'म बसबाट हामफालेर बाँचेको होइन, भेल हेर्न झरेको थिएँ। अरूलाई नबचाई आफू बाँच्न चाहेको पनि थिइनँ,' उनले भने, 'बाढीले मलाई एक्कासि हुत्याएर नालीमा फालिदियो। केहीबेर बाढीसँगै बगेँ। अनि एउटा बुटो समातेर पहाडतिर चढेँ।'

गाडीबाट ओर्लिनेबित्तिकै टाउकोमाथिबाट पहाड झरेझैं बाढी आएको उनी बताउँछन्।
'त्यहीँबाट माथि उक्लिने बाटो थिएन। पछाडि फर्केर भागेको थिएँ,' उनले भने।
बाढीबाट जोगिएर तुलाराम रूखको बुटो समातेर माथितिर गए। त्यहाँ उनले दाजु बद्रीप्रसाद देवकोटालाई भेटे। बद्री चिनिने अवस्थामा थिएनन्। हिलोमा डुबेर आएका जस्ता देखिन्थे। कपडा च्यातिएका थिए।
केहीबेरमा बसका सहचालक निरज भण्डारी र बाबुराम देवकोटा भेटिए। एकछिनमा अर्का यात्रु रवीन्द्र देवकोटा भेटिए।
केही तल पालुङटारकै महिला छन् रे भन्ने कुरा भएपछि उनीहरू तल ओर्लिए। ती महिला उनीहरूसँगै तीर्थयात्रामा रहेकी पार्वती न्यौपाने थिइन्। उनीहरू एकअर्काको अवस्था देखेर रूवाबासी गरे।
स्याङ्जाका अर्का व्यक्ति पनि यसरी नै जंगलतर्फ उक्लिएर बाँचेका रहेछन्।
केहीबेरपछि उनीहरू तल ओर्लिए र बस भएको ठाउँतिर लागे। तर बस कहीँ थिएन। उनीहरूका मान्छे पनि थिएनन्।
'न बस थियो, न हाम्रा मान्छे। केही नामनिसान थिएन। मैले समातेको रूखको बुटो, चौतारी पनि लगेछ,' उनले भने।
बाढीबाट जोगिन जंगलतर्फ उक्लिँदै गर्दा उनले गाउँका घरहरू बगाएको देखेका थिए। घरका छतबाट मानिसहरू बगाएको दृश्य उनका आँखामा अझै घुमिरहेको छ।
'बाढीले घरको छतमा बसेको मान्छे पनि बगायो। कति बगायो कति, कति रूवाबासी थियो,' उनले भने, 'कलियुगको अन्त्य भएको हो कि जस्तो कहालीलाग्दो थियो।'
उनीहरू त्यहाँबाट जंगल–जंगल माथितिर दौडिए। खोला उर्लिएकै थियो।
यसरी नै भागेर ज्यान जोगाएका अर्का एक व्यक्तिले जंगलमै चाउचाउ र चिउरा मोलेर दिए। तुलारामले दुई फाँको खाए अनि फेरि हिँड्न थाले।
जंगल जंगल हिँड्दाहिँड्दै उनीहरूले मोटरबाटो भेटे। बाढीबाट भागेका उनीहरू कोही माइक्रो त कोही ट्रकमा चढेर सूर्यगढी गाउँपालिकाको कार्यालय पुगे।
त्यति बेला पानी पर्न थालेको थियो। गाउँपालिकाले उनीहरूलाई आश्रय दियो। गाउँपालिका–२ का वडाध्यक्ष दीपक अधिकारीले उनीहरूलाई सहयोग गरे।
उनीहरूका लुगा च्यातिएका थिए। तुलारामहरूले पसल गएर कपडा किने। बास बस्न गाउँपालिकाले म्याट दियो। त्यसैलाई काटेर ओछ्यान, सिरानी र सिरक बनाएर सुते।
तर निद्रा कहाँ थियो र!
श्रीमती, भाइबुहारी, अरू आफन्त, इष्टमित्र, गाउँलेहरू गुमाएको पीडा थियो। आफै संयोगले बाँचेको सपनाजस्तो लागिरहेको थियो।

बिहान तुलारामको घुँडा र खुट्टा सुन्निएको थियो। हात दुखेको थियो। शरीर भित्रभित्रै दुखिरहेको थियो।
'अरू साथीहरू अझ बढी घाइते थिए। तर शरीरको चोटभन्दा ठूलो चोट हराएका आफ्ना मान्छेको थियो,' तुलारामले भने।
उनीहरू फेरि बाढी गएको ठाउँ गए। बस देखिन्छ कि भन्ने आशा थियो। आफ्ना मान्छेहरू पनि आफूहरूजस्तै भागेर ज्यान जोगाएका छन् कि भन्ने आशा थियो।
तर त्यहाँ बगर मात्र थियो।
'बस भएको ठाउँ पुग्दा हाम्रा मान्छे जिउँदो पाइने आशा मर्न थाल्यो,' तुलारामले भने।
बसमा यात्रारत ३६ जना यात्रुमध्ये ६ जनाले मात्र तुलारामझैं संयोगले ज्यान जोगाए। बाँकी ३० जनामध्ये पाँच जनाको शव भेटियो भने २५ जना बससँगै हराए।
शव भेटिनेमा कमला देवकोटा, केदार पण्डित, सुजाता कौडाल, सुमी कुमाल र तारा रानाभाट छन्। बाँकी २५ जनामध्ये २४ जनाको शवको कुश बनाएर दाहसंस्कार गरिएको स्थानीय युवा समाजसेवी अञ्जन देवकोटाले बताए।
पालुङटारस्थित मर्स्याङ्दी नदी र चेपे नदीको दोभानमा तुलारामले पनि आफ्नी श्रीमती सपनाको कुशको शव बनाएर शनिबार दाहसंस्कार गरे।
शनिबार मात्र आठ जनाको दाहसंस्कार गरेको अञ्जनले बताए।
'अब हाम्रो गाउँबाट हराउनुभएकी एक जना मनमाया खड्काको मात्र दाहसंस्कार गर्न बाँकी छ, बाँकीको गरिसकियो,' अञ्जनले भने।
घर फर्किएका तुलारामसँग अब श्रीमती सपना छैनन्। उनी कहाँ पुगिन् भन्ने अत्तोपत्तो पनि छैन।
संयोगले ज्यान जोगाएका तुलारामसँग अब त्यो यात्रा, आफ्ना मान्छेहरू, र आँखैअगाडि देखेको कहालीलाग्दो बाढीका सम्झनाहरू मात्र बाँकी छन्।
'जीवनमा कहिल्यै नमेटिने दुःखद छाप बनेर बस्यो,' उनले भने।