गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सीमा भई बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले घर बगाएका स्थानीय बासिन्दालाई होटलमा राखिएको छ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बाढीबाट पूर्ण रूपमा घरविहीन भएका ४ घरधुरीका मानिसहरूलाई तत्कालका लागि होटलमा बास बस्ने व्यवस्था मिलाइएको हो।
बाढी पीडित परिवारलाई वडा नम्बर ४ का सदस्य फुर्पू ठिले लामाले सञ्चालन गर्दै आएको होटलमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष लामाको भनाइ छ।
थेराङ खोलामा आइतबार बिहान साढे ३ बजे बाढी आउँदा ४ घर, दुई पुल र एक जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो।
गाउँपालिका अध्यक्ष लामाका अनुसार घर बगेका स्थानीयलाई तत्कालका लागि राहत पनि वितरण गरिसकिएको छ।
ओर्केन छोटेन लामा, लाक्पा भुटी लामा, नुर्बु वाङग्याल लामा, छिरिङ वाङ्दी लामालाई तत्काल राहतका लागि चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला, चिनीलगायत सामग्री वितरण गरिएको उनको भनाइ छ।
साथै थेराङ खोला बाढीपछि मनास्लु पदमार्ग आउजाउ तत्कालका लागि बन्द गरिएको छ। बगेका पुल वैकल्पिक व्यवस्था गरी पदमार्ग खुलाउने तयारीमा गाउँपालिका लागेको छ।
त्यसका लागि वडा नम्बर ४ का अध्यक्ष पेमा ग्याल्पो लामाको नेतृत्वमा स्थलगत अवलोकन गरी सुक्सम झोलुङ्गे पुल खण्डमा वैकल्पिक बाटो खुलाउने कार्य आजदेखि सुरू गरिने पनि उनले जानकारी दिए।