चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले स्याक्सनी-एन्हाल्ट राज्यको प्रान्तीय निर्वाचन जित्ने प्रेक्षेपण गरिएको छ।
एक्जिट पोल अनुसार आइतबार भएको निर्वाचनमा एएफडीले ४४ प्रतिशत मत हासिल गर्दै जर्मनीको स्याक्सनी-एन्हाल्ट राज्यमा पहिलो स्थान हासिल गर्ने देखिएको विभिन्न मिडियाले लेखेका छन्।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै दक्षिणपन्थी दल राज्य स्तरमा सत्ताको यति नजिक पुगेको हो। यसलाई चान्सलर फ्रेडरिक मर्जको कन्जर्भेटिभ पार्टीलाई ठूलो धक्का लाग्नेछ।
हिटलरको नाजी पार्टीसँग मिल्दो विचारधारा भएको एएफडीको युवा संघलाई जर्मनीको सुरक्षा निकायले दक्षिणपन्थी अतिवादी भन्दै सुरक्षा खतराका रूपमा लिन्छन्।
यसको अतिवादी विचारधाराका कारण जर्मनीको कुनै पनि दलले एएफडीसँग गठबन्धन गरेर सरकार बनाउँदैनन्।
प्रान्तीय निर्वाचन जिते पनि एएफडीले त्यहाँ सरकार बनाउने अझै पनि पक्का छैन।
तर एएफडी स्याक्सनी-एन्हाल्ट राज्यमा मात्रै नभएर राष्ट्रिय स्तरमै जर्मनीको सबैभन्दा लोकप्रिय पार्टी बनिसकेको छ। यस्तोमा सो दललाई लामो समयसम्म सत्ता बाहिर राख्न मुस्किल हुँदै जानेछ।
यसले आप्रवासनमाथि कडा प्रतिबन्ध लगाउने, रूसले युक्रेनमाथि युद्ध छेडेपछि बिग्रिएको सम्बन्ध पुन: स्थापित गर्ने, युक्रेनलाई दिइँदै आएको सहयोग कटौती गर्ने र युरो मुद्राबाट बाहिरिने लगायत चरम दक्षिणपन्थी एजेण्डा बोक्छ।
एएफडीको स्याक्सनी-एन्हाल्टका लागि मुख्य उम्मेदवार ३५ वर्षीय उल्रिच सिगमन्डले आफ्नो दलले इतिहास रचेको भन्दै राज्यको जितलाई सन् २०२९ मा हुने संघीय निर्वाचनमा राष्ट्रिय सत्ता प्राप्त गर्ने दिशामा पहिलो कदमको भनेका छन्।
'जनताले अन्ततः राजनीतिक परिवर्तन चाहेको कुरा पूर्ण रूपमा स्पष्ट पारिसकेका छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूले यो परिवर्तन हामीबाटै चाहेको देखाएका छन्,' सिगमन्डले थपे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी नगरी आफ्नो 'ट्रुथ सोसल' साइटमा यस नतिजाको स्क्रिनसट पोस्ट गरेका छन् भने अन्य युरोपेली देशका कट्टर दक्षिणपन्थी नेताहरूले यस निर्वाचनलाई परिवर्तनको जनादेश भन्दै स्वागत गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)