अमेरिकाले रूस-युक्रेन युद्धलाई आगामी हिउँदमा मत्थर पार्न र बृहत् शान्ति सम्झौताका लागि पुनः वार्ता सुरू गर्न खोजेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरले युद्ध अन्त्य गर्ने विषयमा पहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग र पछि जेलेन्स्कीसँग कुरा गरेका थिए।
त्यसबारे अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै हिउँदअघिका साताहरूले कूटनीतिको लागि एउटा अवसर प्रदान गर्ने जेलेन्स्कीले विश्वास व्यक्त गरेका छन्। पुटिनले युक्रेनलाई कमजोर बनाउन अर्को हिउँदको सहारा लिइरहेका छन् भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए। तर पुटिन अक्टोबरमा हुने अमेरिकी संसदीय चुनावअघि ट्रम्पलाई चिढ्याउन चाहँदैनन् भन्ने कुरा उनले थपे।
‘मेरो बुझाइमा पुटिनलाई ट्रम्पको आवश्यकता छ। उनी ट्रम्पलाई चिढ्याउन चाहँदैनन्,’ जेलेन्स्कीले भने।
पुटिनले तनाव कम गर्न नचाहे पनि ट्रम्पको दबाबका कारण उनी त्यसो गर्न बाध्य हुन सक्ने जेलेन्स्कीले बताए। अमेरिकी चुनावअघि पुटिनले ट्रम्पलाई कूटनीतिक जित दिलाउन चाहन सक्छन् कि भनी सोधिएको प्रश्नमा जेलेन्स्कीले ‘हो’ भनेर उत्तर दिए।
ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ कुस्नरसँग जेलेन्स्कीले आइतबार किभमा भेटवार्ता गरेका थिए। ट्रम्पको दोस्रो कार्यकालमा युक्रेन भ्रमण गर्ने उनीहरू सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। कुस्नर र विटकफले शनिबार मस्कोमा पुटिनसँग तीन घण्टा लामो बैठक गरेपछि किभको यात्रा गरेका थिए।
अमेरिकी दूतहरूबाट आफूले ‘रूसीहरू वार्ताका लागि तयार छन्’ भन्ने सन्देश पाएको जेलेन्स्कीले बताए। रूसी आक्रमणमा हालै देखिएको वृद्धिका कारण उनलाई अझै पनि शंका छ। तर पनि अमेरिकी दूतहरूको भ्रमणपछि पुटिन वार्तालाई अगाडि बढाउन छलफल गर्न तयार छन् भन्ने कुरा आफूले बुझेको जेलेन्स्कीले बताए।
विटकफ र कुस्नरको भ्रमण अघि पनि पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न सहमतिमा पुग्ने सम्भावना रहेको बताएका थिए।
बिहीबार एक आर्थिक मञ्चमा बोल्दै पुटिनले अमेरिका र चीन लगायतका धेरै देशहरू शान्ति सम्झौतालाई समर्थन गर्न तयार रहेको बताए।
‘तर, अन्त्यमा यो समस्या द्वन्द्वमा संलग्न देशहरू रूस र युक्रेनद्वारा नै समाधान गरिनुपर्छ,’ उनले भने, ‘हामी समाधानका लागि योगदान पुर्याउने प्रयास गर्ने सबैप्रति आभारी छौं। के कुनै सम्भावना छ? मेरो विचारमा छ।’
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)