स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच युद्ध सुरू भएयताकै ठूलो आक्रमणको शृंखला चलेको छ।
विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको २५ प्रतिशत पैठारी हुने हर्मुजमा अमेरिका र इरान दुवैले एक-अर्काका पानीजहाजमा आक्रमण गरेपछि त्यहाँ ६ महिना यताकै ठूलो तनाव देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमा हमला गरेको थियो।
त्यसको जबाफमा इरानले अमेरिका र अरू देशका गरी १० वटा तेल ट्यांकरमा पछिल्लो एक साता यता नै हमला गरेको भनेर रोयटर्सले लेखेको छ।
यसलाई युद्ध सुरू भएको ६ महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्ष्य गरी भएको सबैभन्दा ठूलो आक्रमणको शृंखला भनिएको छ।
आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। गत जुलाईपछि पहिलोपटक ब्रेन्टको मूल्य १०० डलरमाथि पुगेको हो।
समुद्री यातायातमा भएको आक्रमणका क्रममा कम्तीमा एक जना चालक दलका सदस्यको मृत्यु भएको पनि रोयटर्सले लेखेको छ। अर्का एक जना भने बेपत्ता छन्।
अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेको भिडियोसमेत सार्वजनिक गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार ती कारबाही आइआरजिसीले अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट दुईपटक लक्ष्य गरेपछि जबाफी कारबाहीका रूपमा गरिएको हो।
अमेरिकाका अनुसार त्यस क्रममा कुनै अमेरिकी सैनिक घाइते भएका छैनन्।
अमेरिकाले पछिल्लो एक सातामा इरानी तेल ट्यांकरमाथि १० पटक आक्रमण गरिसकेको जनाएको छ।
विदेशमन्त्री रुबिओले इरानले अमेरिकी नौसैनिक पानीजहाजलाई लक्षित गरिरहे प्रत्येकपटक थप इरानी तेल ट्यांकर गुमाउनुपर्ने चेतावनी दिएका छन्।
‘इरानले अमेरिकी नौसेनाका पानीजहाजलाई लक्षित गर्ने प्रयास गरिरहन्छ भने त्यसको प्रत्येक प्रयासको बदलामा उसले एउटा ट्यांकर गुमाउनेछ,’ कोलम्बियाको भ्रमणमा रहेका रुबियोले भने।
इरानले भने अमेरिकाको दुईवटा पानीजहाज र अन्य आठवटा ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।
दुबई नजिकै रोकिराखिएको ‘हर्क्युलिस स्टार’ नामक तेलवाहक पानीजहाजमा आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको र अर्का एक जना बेपत्ता भएको जहाजको चार्टर कम्पनी पेनिन्सुलाले जनाएको छ।
बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओले पनि हर्मुजको आसपासमा एउटा पानीजहाज प्रहारपछि एकातर्फ ढल्किएको जानकारी प्राप्त भएको जनाएको छ।
इराकी बन्दरगाहका अधिकारीहरूका अनुसार करिब २० लाख ब्यारेल इन्धन बोकेको ‘न्यु एन्ड्रोस’ नामक ट्यांकर इराकी जलक्षेत्रमा ड्रोन आक्रमणपछि आगलागीमा परेको थियो। त्यसमा रहेका २२ जना चालक दलका सदस्य भने सुरक्षित रहेको बताइएको छ।
यूकेएमटीओले उत्तरी गल्फ र गल्फ अफ ओमानमा केही व्यावसायिक पानीजहाजमाथि आक्रमण भएको जानकारी प्राप्त भएको जनाएको छ। संयुक्त अरब इमिरेट्सको खोर फक्कान बन्दरगाहमा एउटा एलएनजी ट्यांकरसमेत क्षतिग्रस्त भएको समुद्री सुरक्षा स्रोतले जनाएको छ।
यसैबीच इरानको दक्षिणी बन्दरगाह सहर जास्कनजिकै समुद्रतर्फबाट विस्फोटको आवाज सुनिएको इरानी समाचार संस्था फार्सले जनाएको छ। विस्फोटको कारणबारे भने तत्काल स्पष्ट विवरण सार्वजनिक भएको छैन।
युद्धका कारण विश्वको तेल आपूर्तिको करिब पाँच भागको एक भाग पैठारी हुने हर्मुज जलमार्गमा पानीजहाजको आवागमन फेरि प्रभावित भएको छ।
पछिल्ला दिनमा अमेरिका र उसका साझेदारले ट्यांकरलाई हर्मुज पार गराउन सफलता बढेको दाबी गरिरहेका थिए। तर अगस्ट ३० पछि फेरि लडाइँ चर्किएसँगै त्यो क्रम प्रभावित भएको छ।
ऊर्जा परामर्श कम्पनी रिस्ट्याड इनर्जीका प्रमुख अर्थशास्त्री क्लाउडियो गालिम्बर्टीका अनुसार हर्मुज हुँदै हुने तेलको प्रवाह दैनिक २० लाख ब्यारेलसम्म झरेको छ।
अगस्ट ३० मा पुनः लडाइँ सुरु हुनुअघि यही मार्गबाट दैनिक ८० लाखदेखि ९० लाख ब्यारेलसम्म तेल ओसारपसार भइरहेको थियो।
कच्चा तेलको मूल्य बढ्नुका साथै त्यसबाट उत्पादन हुने इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ।
अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य बुधबार प्रतिग्यालोन ५.९४ डलरभन्दा माथि पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
इरानले गएको मंगलबार मात्रै जोर्डनमा रहेको अमेरिकी सैन्य अखडालाई लक्ष्य गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।
जोर्डनले २० मध्ये १८ वटा मिसाइल आकाशमै नष्ट गरिएको जनाएको छ। बाँकी दुई वटा भने मानव बस्ती नभएको ठाउँमा खसेको जनाएको छ। अमेरिकी अधिकारीका अनुसार आक्रमणमा कुनै पनि अमेरिकी सैनिक हताहत भएका छैनन्।
इरानको रिभोल्युसनरी गार्ड (आइआरजिसी)ले थप आक्रमण भए आफ्नो जबाफी कारबाही अझ तीव्र बनाउने चेतावनी दिएको छ।
उसले समुद्रमा नयाँ र पहिलेभन्दा ठूलो निषेधित क्षेत्रको नक्सा चाँडै सार्वजनिक गर्ने जनाएको छ। उक्त क्षेत्र पाकिस्ताननजिकैको चाबहारसम्म फैलिने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको आरोप लगाएका छन्।
उक्त निर्वाचनबाट अमेरिकी संसदमा रिपब्लिकन पार्टीले आफ्नो नियन्त्रण कायम राख्ने वा गुमाउने तय हुनेछ।
‘मलाई लाग्छ, निर्वाचनपछि युद्ध तत्कालै अन्त्य हुनेछ, किनभने उनीहरू अब थप धान्न सक्दैनन्। उनीहरू निर्वाचनलाई प्रभावित पार्न हताश भएर प्रयास गरिरहेका छन्,’ ट्रम्पले पत्रकारहरूसँग भने।
तर वाल स्ट्रिट जर्नलले बुधबार प्रकाशित गरेको समाचारअनुसार उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसहित ह्वाइट हाउसका वरिष्ठ सल्लाहकारहरूले यो युद्ध ट्रम्पको राष्ट्रपतिको कार्यकाल अर्थात् जनवरी २०२९ सम्मै लम्बिन सक्ने चेतावनी निजी रूपमा ट्रम्पलाई दिएका छन्।
रोयटर्सले भने उक्त रिपोर्ट तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।