सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद तोकिएको छ।
जिल्ला अदालत काठमाडौंले बिहीबार तामाङसहित प्रतिवादीहरूलाई ठगी तथा संगठित अपराध कसुरमा सजाय निर्धारण गरेको हो।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते ठगी र संगठित अपराधको कसुर ठहर गरेको थियो। बिहीबार भने प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय तोकेको हो।
अदालतल तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।
उनीसहित अन्य प्रतिवादीहरूविरूद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो कायम गरेको थियो।
यो बिगो दामासाहीले भाग गरी असुल गर्न पनि अदालतले आदेश दिएको छ।
यही सहकारी ठगी र संगठित अपराधमा प्रतिवादी रहेका दुर्गाप्रसाद संग्रौलालाई ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको छ।
जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधानलाई पनि सोही सजाय सुनाएको छ।
केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना, रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, मुकुन्दप्रसाद नेउपानेलाई ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको छ।
दानहिरा तुलाधरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ)लाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
लालकाजी गुरूङलाई पनि सोही सजाय सुनाएको छ।
यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा २०८० माघ २१ गते दोषी ठहर गरेको थियो।
अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई तीन वर्ष कैद र एक करोड ७२ रुपैयाँ बढी रकम जरिवाना सजाय सुनाएको थियो।