कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो।
कुशे औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पुगेर दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहँदै आएको छ।
टाढाटाढाबाट आएका श्रद्धालुहरूले बागमती नदी किनारमा स्नान तथा तर्पण गरी पितृप्रति श्रद्धा अर्पण गरेका छन्।
यस दिन जीवित बुबालाई मिठा परिकार तथा नयाँ कपडा लगायतका सामग्री दिएर सम्मान गर्ने चलनसमेत छ।
बाबु नहुनेहरूले भने दिवंगत पितृको सम्झनामा गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर श्राद्ध तथा तर्पण गर्ने गरेका छन्।
हिन्दू धर्मावलम्बीहरूका लागि कुशे औंसी पितृ स्मरण र पारिवारिक सम्बन्धको सम्मान गर्ने महत्वपूर्ण दिनका रूपमा लिइन्छ।
धार्मिक मान्यताअनुसार यस दिन गोकर्णमा श्राद्ध तथा तर्पण गर्दा पितृले शान्ति प्राप्त गर्ने विश्वास छ।
कुशे औंसीलाई ऋषितर्पणी औंसी तथा गोकर्ण औंसीका रूपमा पनि चिनिन्छ।
यसै दिन घरमा धार्मिक कार्यमा प्रयोग गरिने कुश भित्र्याउने परम्परा छ। कुशलाई पवित्र वनस्पति मानिने भएकाले धार्मिक अनुष्ठानमा यसको विशेष महत्व रहेको छ।
गोकर्णमा श्रद्धालुको भीड बढेसँगै मन्दिर तथा नदी किनार क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
श्रद्धालुको सहज आवागमन तथा धार्मिक गतिविधिलाई व्यवस्थित गर्न विभिन्न स्थानमा व्यवस्थापन गरिएको छ।
तस्बिरहरूः







-ink-1789106290.jpeg)






तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी